काठमाडौं- मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासस्वरूप संयुक्त राज्य अमेरिका र इरानका प्रतिनिधिबीच कतारको राजधानी दोहामा अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ । बुधबार कतार र पाकिस्तानको मध्यस्थतामा दुवै देशका प्रतिनिधिले प्राविधिक तहमा छलफल गरेका हुन् ।
दोहामा भएको वार्ता हालै स्विट्जरल्याण्डको लेक लुसर्नमा सम्पन्न छलफलबाट भएको प्रगतिलाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको हो । साथै, दुवै पक्षले जुन महिनामा स्वीकार गरेको वार्ता ढाँचाका आधारमा आगामी प्रक्रियाबारे पनि छलफल भएको बताइएको छ ।
अमेरिकी प्रतिनिधि जारेड कुशनर र स्टीभ विटकफले मङ्गलबार कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग भेटवार्ता गरेका थिए । यद्यपि उनीहरू प्राविधिक तहको अप्रत्यक्ष वार्तामा भने सहभागी नभएको कूटनीतिक स्रोतले जनाएको छ ।
यसअघि नै अमेरिका र इरानले दोहामा हुने वार्ताका लागि आफ्ना प्रतिनिधिमण्डल पठाउने पुष्टि गरेका थिए । कतार र पाकिस्तानको मध्यस्थतामा तयार गरिएको समझदारीको प्रारम्भिक खाकामा फेब्रुअरी २८ देखि जारी अमेरिका–इजरायल र इरानबीचको तनाव कम गर्न ६० दिने युद्धविराम, अन्तर्राष्ट्रिय व्यापारका लागि महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गर्ने व्यवस्था तथा युद्ध अन्त्यसँगै इरानको आणविक कार्यक्रमसम्बन्धी अन्तिम सम्झौताका लागि समयसीमा तय गर्ने प्रस्ताव समेटिएको जनाइएको छ ।
यद्यपि इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि गरेको प्रत्यक्ष वार्तासम्बन्धी दाबी अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएईले उपविदेशमन्त्री काजेम घरिबादीको नेतृत्वमा प्रतिनिधिमण्डल दोहा गएको पुष्टि गर्दै अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको स्पष्ट पारेका छन्।
यसैबीच कतारको विदेश मन्त्रालयले अमेरिकी प्रतिनिधि कुशनर र विटकफले प्रधानमन्त्री अल थानीसँग अमेरिका–इरानबीच जारी वार्ता तथा लेबनानको पछिल्लो सुरक्षा अवस्थाबारे समेत छलफल गरेको जनाएको छ ।
दुवै पक्षबीच प्रत्यक्ष संवाद हुन नसके पनि मध्यस्थकर्तामार्फत जारी अप्रत्यक्ष वार्तालाई मध्यपूर्वमा बढ्दो तनाव न्यूनीकरण र कूटनीतिक समाधानतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।


विश्व खबर 




















