images
images
  • क्रिप्टोकरेन्सी र व्यवसायबाट ट्रम्पलाई १ अर्ब डलरभन्दा बढी आम्दानी, नयाँ वित्तीय विवरण सार्वजनिक

    काठमाडौं-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्किएको पहिलो वर्षमै क्रिप्टोकरेन्सी कारोबारबाट १ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको विवरण सार्वजनिक भएको छ ।

    सन् २०२५ का लागि जारी गरिएको ९२७ पृष्ठ लामो अनिवार्य वित्तीय विवरणअनुसार ट्रम्पले पदभार ग्रहण गर्नुअघि सुरु गरिएको ‘ट्रम्प मेम क्वाइन’बाट मात्रै करिब ६३ करोड ५० लाख डलर रोयल्टी आम्दानी गरेका छन् । यद्यपि उक्त डिजिटल मुद्राको मूल्य त्यसपछि उल्लेखनीय रूपमा घटेको बताइएको छ ।

    विवरणमा ट्रम्प परिवारसँग सम्बन्धित ‘वर्ल्ड लिबर्टी फाइनान्सियल’ नामक क्रिप्टोकरेन्सी कम्पनीमार्फत ५० करोड डलरभन्दा बढी आम्दानी भएको उल्लेख छ। उक्त कम्पनी ट्रम्पका छोरा तथा विशेष दूत स्टिभ विटकोफका परिवारसँग जोडिएको बताइएको छ ।

    क्रिप्टो क्षेत्र बाहेक ट्रम्पले रियल इस्टेट, गल्फ क्लब तथा आफ्नै ब्रान्डका घडी, बाइबल, जुत्ता, अत्तर र गिटार बिक्रीबाट पनि उल्लेखनीय आम्दानी गरेका छन्। मार–ए–लागो क्लबबाट करिब ७ करोड ७० लाख डलर र फ्लोरिडाको डोराल गल्फ क्लबबाट १२ करोड २० लाख डलर आम्दानी भएको विवरणमा उल्लेख छ ।

    उता, प्रथम महिला मेलानिया ट्रम्पले पनि सन् २०२५ मा वृत्तचित्रसम्बन्धी लाइसेन्स सम्झौताबाट १ करोड ७० लाख डलर तथा एनएफटी बिक्रीबाट ६० लाख डलर आम्दानी गरेको विवरणमा उल्लेख छ ।

    ह्वाइट हाउसले भने ट्रम्पले पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आरोप अस्वीकार गरेको छ ।

    ट्रम्पले सन् २०२१ मा बिटक्वाइनलाई ‘ठगी’ र ‘अस्थिर प्रणाली’ भनेका थिए । तर सन् २०२४ को चुनावी अभियानमा उनले अमेरिकालाई ‘विश्वकै क्रिप्टो राजधानी’ बनाउने घोषणा गरेका थिए । पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि उनले क्रिप्टो उद्योगलाई प्रोत्साहन गर्ने कार्यकारी आदेश जारी गरेका थिए ।

    फोर्ब्सका अनुसार ट्रम्पको कुल सम्पत्ति हाल करिब ६ अर्ब अमेरिकी डलर पुगेको छ भने ब्लुमबर्ग बिलिनेयर सूचकांकले उनको सम्पत्ति ७ अर्ब ६० करोड डलर रहेको अनुमान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images