images
images
  • इरान–अमेरिका वार्ता दोहामा जारी, ‘टेक्निकल डायलग’का रूपमा मध्यस्थकर्तामार्फत छलफल

    काठमाडौं- इरान र संयुक्त राज्य अमेरिका बीच कतारको राजधानी दोहामा बुधबार वार्ता जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएको छ । रिपोर्ट अनुसार उक्त प्रक्रिया प्रत्यक्ष वार्ता नभई प्राविधिक तहको ‘टेक्निकल डायलग’का रूपमा सञ्चालन भइरहेको छ।

    वार्तामा पाकिस्तान र कतारले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । पछिल्ला दिनमा बढेको क्षेत्रीय तनावबीच सुरु भएको यो संवादलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ ।

    वार्ताको पूर्वतयारीका लागि मंगलबार अमेरिकी विशेष दूत स्टीभ बिटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जरेड कुसनर कतार पुगेका थिए । उनीहरूले कतारका प्रधानमन्त्रीसँग छुट्टै भेटवार्ता समेत गरेका थिए । यद्यपि बुधबारको वार्तामा भने उनीहरूको प्रत्यक्ष सहभागिता नरहेको बताइएको छ ।

    स्ट्रेट अफ होर्मुज क्षेत्रमा देखिएको पछिल्लो सैन्य तनावपछि यो वार्तालाई थप संवेदनशील र महत्वपूर्ण रूपमा हेरिएको छ ।

    यसअघि १७ जुनमा अमेरिका र इरानबीच १४ बुँदे सहमति (एमओयू) भएको थियो । त्यसपछि २१ जुनमा स्विट्जरल्यान्डमा दुवै देशका प्रतिनिधिमण्डलबीच पहिलो चरणको शान्ति वार्ता सम्पन्न भएको थियो ।

    तर पछिल्ला दिनहरूमा होर्मुज स्ट्रेटमा देखिएको तनाव र दुवै पक्षले युद्धविराम उल्लंघनको आरोप–प्रत्यारोप गरेपछि द्विपक्षीय सम्बन्ध पुनः अस्थिर बनेको छ । यसैबीच दोहामा जारी वार्तालाई तनाव न्यूनीकरण र संवाद पुनःस्थापनाको प्रयासका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images