images
images
  • विश्वकपमा खेल जितको उत्सवमा मेक्सिको सिटीमा भागदौड, दुई जनाको मृत्यु

    काठमाडौं- विश्वकप फुटबलमा मेक्सिकोले ऐतिहासिक जित निकालेर नकआउट चरणमा प्रवेश गरेको उत्सव दुःखद घटनामा परिणत भएको छ । विजयको खुसी मनाउन मेक्सिको सिटीका सडकमा उत्रिएका समर्थकको अत्यधिक भीडमा च्यापिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

    मेक्सिको सिटीको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेमा १९ वर्षीया एक युवती र ४४ वर्षीय एक पुरुष रहेको पुष्टि गरेको छ । उनीहरूको भीडको चापका कारण निसास्सिएर वा च्यापिएर मृत्यु भएको जनाइएको छ ।

    स्थानीय सञ्चारमाध्यमले तेस्रो व्यक्तिको पनि मृत्यु भएको दाबी गरे पनि सरकारी अधिकारीहरूले त्यसको आधिकारिक पुष्टि गरेका छैनन् ।

    मेक्सिकोले बुधबार बिहान इक्वेडरलाई पराजित गर्दै सन् १९८६ यता पहिलोपटक विश्वकपको नकआउट चरणमा जित हासिल गरेको थियो । सह–आयोजक राष्ट्रका रूपमा अन्तिम १६ मा पुगेको टोलीको ऐतिहासिक सफलतापछि लाखौं समर्थक राजधानीका सडकमा उत्सव मनाउन निस्किएका थिए ।

    नगर प्रशासनका अनुसार मेक्सिको सिटीमा करिब १० लाखभन्दा बढी मानिस विजय उत्सवमा सहभागी भएका थिए । उत्सवको मुख्य केन्द्र ‘एन्जेल अफ इन्डिपेन्डेन्स’ स्मारक क्षेत्र बनेको थियो, जहाँ अत्यधिक भीडका कारण भागदौड र चाप सिर्जना हुँदा दुई जनाले ज्यान गुमाएका हुन् ।

    घटनापछि स्थानीय प्रशासनले भीड व्यवस्थापन र सुरक्षा व्यवस्थाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images