काठमाडौं- पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत भत्किँदा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घटनास्थलको भग्नावशेषमा थप बालबालिका फसेको आशंका गरिएकाले उद्धार कार्य जारी छ । घटनापछि शिक्षण केन्द्रका सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको छ ।
वरिष्ठ प्रहरी अधिकारी फैसल कामरानका अनुसार पुरानो भवनमा सञ्चालन भइरहेको शिक्षण केन्द्रको निर्माणाधीन दोस्रो तलाको छत कमजोर निर्माणका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घाइते बालबालिकाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।
दुर्घटनालगत्तै एम्बुलेन्स, सुरक्षाकर्मी र उद्धार टोली घटनास्थल पुगेका थिए । स्थानीय बासिन्दाले पनि बेलचा तथा खाली हातले भग्नावशेष हटाउँदै उद्धार कार्यमा सहयोग गरेका थिए ।
घटनापछि अस्पताल र शिक्षण केन्द्र आसपासको क्षेत्रमा शोक छाएको छ । मृतक बालबालिकाको शव परिवारलाई बुझाइएपछि आफन्तहरू भावविह्वल बनेका थिए । अधिकांश पीडित स्थानीय समुदायका भएकाले उनीहरूको अन्त्येष्टि मंगलबार नै गर्ने तयारी गरिएको अधिकारीहरूले बताएका छन् ।
स्थानीय बासिन्दाले जीर्ण र असुरक्षित भवनमा कक्षा सञ्चालन गरिएको भन्दै शिक्षण केन्द्रका सञ्चालकमाथि कडा कारबाहीको माग गरेका छन् । स्थानीय जफर इकबालले एउटै बस्तीका धेरै परिवारले आफ्ना सन्तान गुमाएकाले कसको घरमा पहिले समवेदना व्यक्त गर्न जाने भन्ने अवस्था सिर्जना भएको बताए ।
पाकिस्तानमा कमजोर निर्माण गुणस्तर, सुरक्षा मापदण्डको बेवास्ता तथा जीर्ण भवनका कारण यस्ता दुर्घटना पटक–पटक दोहोरिने गरेका छन् ।
राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनीहरूले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता दुर्घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा मापदण्ड कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।


विश्व खबर 




















