काठमाडौं– खुला प्रतिस्पर्धामार्फत १३ देशका लागि राजदूत नियुक्त गर्ने सरकारको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार ४ हजारभन्दा बढी आवेदनमध्ये करिब २ हजार ७ सय आवेदन प्रारम्भिक छनोटमा परेका छन् ।
तर, प्रक्रिया अघि बढ्दै गर्दा आवेदकहरूको नाम सार्वजनिक नगर्ने निर्णयले पारदर्शितामाथि प्रश्न उठाएको छ ।
मन्त्रालयले व्यक्तिगत गोपनीयताको कारण देखाउँदै सूची सार्वजनिक नगर्ने जनाएको छ भने आलोचकहरूले सार्वजनिक पदको नियुक्तिमा यस्तो गोपनीयता उचित नभएको बताएका छन् ।
सरकारले अमेरिका, चीन, भारत, बेलायत, अस्ट्रेलियालगायत १३ देशका लागि आवेदन मागेको थियो ।
एउटै व्यक्तिले १० वटासम्म देशका लागि आवेदन दिएको समेत मन्त्रालयले जनाएको छ ।
हाल दोहोरो तथा अपूर्ण आवेदन हटाउने काम भइरहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अब प्रारम्भिक छनोटमा परेकामध्ये आवश्यक उम्मेदवार छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गरिनेछ ।
यसैबीच, नियुक्ति प्रक्रियाबारे परेको रिटमाथि सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ पनि मागेको छ ।
यसअघि विश्वविद्यालयका उपकुलपति, प्रेस काउन्सिल अध्यक्ष र गोरखापत्र संस्थानका महाप्रबन्धकजस्ता सार्वजनिक पदमा खुला आवेदन माग्दा आवेदकहरूको नाम सार्वजनिक गरिएको थियो ।
तर राजदूत नियुक्तिमा फरक अभ्यास अपनाइएकाले समान प्रकृतिका सार्वजनिक नियुक्तिमा दोहोरो मापदण्ड अपनाइएको भन्दै प्रश्न उठेको छ ।
अब खुला प्रतिस्पर्धाबाट सुरु भएको यो प्रक्रिया अन्तिम नियुक्तिसम्म पनि योग्यता र निष्पक्षतामा आधारित हुन्छ कि राजनीतिक प्रभाव हाबी हुन्छ भन्ने चासो बढेको छ ।























