काठमाडौं– इजरायलका कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मुख्य राजनीतिक प्रतिद्वन्द्वी गादी आइसेनकोटसँग प्रधानमन्त्री पद आलोपालो गर्ने प्रस्ताव अघि सारेपछि दुई नेताबीच वार्ता भएको छ।
आइतबार बिहान तेल अभिभस्थित इजरायली सैन्य मुख्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो।
सम्भावित राष्ट्रिय एकता सरकार गठनबारे छलफल सुरु गर्नुअघि दुवै नेताले सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। द टाइम्स अफ इजरायलले आइसेनकोटको मध्यमार्गी दल यशारले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै उक्त जानकारी दिएको छ।
गत महिना भएको निर्वाचनमा नेतान्याहुविरुद्ध बनेको गठबन्धनमा सहभागी आइसेनकोटलाई इजरायलका राष्ट्रपतिले नयाँ सरकार गठनको जिम्मेवारी दिएका थिए। उनले नेतान्याहुको लिकुड पार्टी एकता सरकार गठनका लागि कति गम्भीर छ भन्ने हेर्न आफू तयार रहेको बताएका छन्।
शनिबार आइसेनकोटले भनेका थिए, ‘यदि लिकुड वास्तविक एकताका लागि तयार छ भने आगामी २४ घण्टामा उसको गम्भीरता जाँच्न म तयार छु।’
त्यसअघि नेतान्याहुले सामाजिक सञ्जाल एक्समार्फत एकता सरकार गठन भए प्रधानमन्त्री पद आलोपालो गर्ने र सुरुमा आइसेनकोटलाई प्रधानमन्त्री बन्न दिने प्रस्ताव गरेका थिए।
संसद्मा लिकुड पार्टीका सांसद संख्या यशार पार्टीभन्दा बढी भएकाले स्वाभाविक रूपमा आफूले एकता सरकारको नेतृत्व गर्नुपर्ने नेतान्याहुको भनाइ थियो। तर यसपटक उक्त मान्यता छाड्न आफू तयार रहेको उनले बताएका छन्।
‘अस्तित्वमाथि नै गम्भीर खतरा उत्पन्न भएको र त्यसको सामना गर्न नसक्ने सरकार बन्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेताका रूपमा मेरो जिम्मेवारीले सबै कुरा पन्छाउन माग गर्छ। यसमा सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नुपर्ने सिद्धान्त पनि पर्छ। त्यसैले कार्यकालको सुरुमै गादी आइसेनकोटलाई प्रधानमन्त्री र आफूलाई वैकल्पिक प्रधानमन्त्रीका रूपमा स्वीकार गर्न म तयार छु’, नेतान्याहुले लेखेका छन्।
आइसेनकोटले आगामी डिसेम्बर ६ सम्ममा इजरायलको नयाँ सरकार गठनको घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले त्यसका लागि उपलब्ध १४ दिनको अतिरिक्त समयसमेत नलिने बताएका छन्।
यसअघि उनले नेतान्याहुको पार्टीले गठबन्धन निर्माणसम्बन्धी वार्ता जानाजानी लम्ब्याएर पुनः निर्वाचन गराउने प्रयास गरेको आरोप लगाएका थिए। प्रधानमन्त्री बन्ने तयारीमा रहेका आइसेनकोटले अहिलेसम्म सरकार गठनका लागि आवश्यक गठबन्धन जुटाउन संघर्ष गरिरहेका छन्।
अलजजिराका अनुसार आइसेनकोटले नेतान्याहुको वास्तविक मनसाय बुझ्न तत्काल वार्ता गर्न आग्रह गरेका थिए।
‘छलपूर्ण रणनीति’
अक्टोबर २७ मा सम्पन्न इजरायलको निर्वाचनले नेतान्याहुको पक्ष वा विपक्षमा रहेका कुनै पनि गठबन्धनलाई स्पष्ट बहुमत दिन सकेन।
नेतान्याहु र उनका परम्परागत दक्षिणपन्थी तथा अतिवादी र अति–अर्थोडक्स धार्मिक दलहरूको गठबन्धनले ५३ सिट जितेको थियो। यो १२० सदस्यीय इजरायली संसद् (नेसेट) मा बहुमतका लागि आवश्यक सिटभन्दा कम हो।
त्यस्तै आइसेनकोट र उनका सम्भावित गठबन्धन साझेदारहरूले ४८ सिट जितेका थिए।
नेतान्याहुको पछिल्लो प्रस्तावले उनीमाथि बढिरहेको राजनीतिक दबाबलाई पनि संकेत गरेको छ। आइसेनकोटले सम्भावित गठबन्धन साझेदारहरूको समर्थन जुटाउँदै बहुमत पुर्याउने वा सरकार गठन गर्ने प्रयास गरिरहेका छन्।
नेतान्याहुको प्रस्तावपछि डेमोक्रेट्स समूहका नेता यायर गोलानले भने एकता सरकार गठनको प्रस्ताव अस्वीकार गरेका छन्। उनले नेतान्याहुसँग कुनै पनि प्रकारको एकता सरकार बनाउने पक्षमा आफू नरहेको सार्वजनिक रूपमा बताउँदै आएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अब छलकपट र धोखाधडीपूर्ण रणनीति बन्द हुनुपर्छ। नेतान्याहु पराजित भइसकेका छन्। मतदाताको इच्छाको सम्मान गर्दै परिवर्तन र उद्धारको सरकार गठन गर्नु हाम्रो दायित्व हो।’
अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टका नेता युसुफ जबारेनले पनि नेतान्याहुले सरकार परिवर्तनको प्रयास विफल पार्न खोजिरहेको आरोप लगाएका छन्।
उनले लेखेका छन्, ‘लोकतान्त्रिक बहुमतले आफ्नो निर्णय गरिसकेको छ। रगतले लतपतिएको र जनताको बेवास्ता गर्ने यो सरकार अब सत्ताबाट बाहिरिनुपर्छ। यहुदी र अरब दुवै समुदायसहित सम्पूर्ण जनताको साझा इच्छालाई पूरा गर्दै यही साता नेतान्याहुलाई सत्ताबाट हटाउने समय आएको छ।’






















