काठमाडौं– प्रहरीको विधिविज्ञान प्रयोगशालाको रिपोर्टअनुसार इनमको मोबाइल पहिलो पटक १ अक्टोबर २०२६ को दिउँसो ४ बजेर ३० मिनेट ४५ सेकेन्डमा प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेको देखिन्छ ।
प्राप्त प्रयोगशालाको रिपोर्टमा सिंहदरबार प्रधानमन्त्री कार्यालय पुगेको मोबाइल करिब एक घण्टापछि ५ बजेर २५ मिनेट ५ सेकेन्डमा ज्वागलमा पुगेको देखिन्छ । ज्वागलमा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवास छ ।
त्यहाँ मोबाइल करिब एकघण्टा रहेको रिपोर्टमा देखिन्छ । प्रयोगशाला (फरेन्सिक रिपोर्ट) अनुसार ६ बजेर ४३ मिनेट २३ सेकेन्डमा इनमको मोबाइल पुनः सिंहदरबार प्रधानमन्त्री कार्यालय नै ल्याइयो ।
यो क्रम यत्तिमै रोकिँदैन । मोबाइल फेरि ज्वागल नै फर्किएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबार पुर्याइएको मोबाइल त्यही दिन राति ८ बजेर ५० मिनेट ४५ सेकेन्डमा ज्वागल पुगेको रिपोर्ट फरेन्सिक परीक्षणका क्रममा खुलेको हो ।
त्यो रात मोबाइल ज्वागलमै रहेको पाइएको छ । चौथोपटक २ अक्टोबार २०२६ मा मोबाइल पुनः १२ बजेर २५ मिनेट २९ सेकेन्डमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय नै पुगेको रिपोर्टमा देखिएको छ ।
त्यो दिन मोबाइल ५ बजेर २८ मिनेट १० सेकेन्डसम्म सिंहदबारमै राखियो । तर, साँझ पुनः मोबाइल पाँचौँपटक ५ बजेर ४१ मिनेट २४ सेकेन्डमा ज्वागलमै पुगेको देखिन्छ ।
कुमार बेनको घरबाट पाँचौँपटकमा बाहिरिएको मोबाइल ९ बजेर ३६ मिनेट ८ सेकेन्डमा भने दरबारमार्ग पुगेको छ ।






















