काठमाडौं— दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफ्नो पहिलो मानवाकार रोबोटको नमुना (प्रोटोटाइप) कम्पनीको सञ्चालक समितिलाई गत साता प्रस्तुत गरेको छ। कम्पनीले आगामी जनवरीमा उक्त रोबोट सार्वजनिक गर्ने तयारी गरेको विषयसँग जानकार एक व्यक्तिले बताएका छन्।
मेमोरी चिप र स्मार्टफोन उत्पादन गर्दै आएको सामसङले नयाँ व्यवसायिक सम्भावना खोज्ने क्रममा रोबोटिक्स क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्न लागेको हो।
जानकार व्यक्तिका अनुसार सामसङले जनवरीमा अमेरिकाको लास भेगासमा आयोजना हुने कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा उक्त रोबोट प्रदर्शन गर्ने योजना बनाएको छ। यससँगै सामसङ चीनको युनिट्री, अमेरिकी कम्पनी टेस्ला र हुन्डाई मोटरको बोस्टन डाइनामिक्सजस्ता रोबोट निर्माणमा सक्रिय कम्पनीहरूको प्रतिस्पर्धामा प्रवेश गर्नेछ।
सामसङले गत जुलाईमा रोबोटिक्स अनुसन्धान तथा विकास, दीर्घकालीन रणनीति र व्यावसायीकरणको काम गर्ने ‘रोबोटिक्स एक्सपिरियन्स’ (आरएक्स) इकाइ स्थापना गरेको थियो। उक्त इकाइ कम्पनीका सहप्रमुख कार्यकारी अधिकृत टीएम रोहको प्रत्यक्ष नेतृत्वमा रहेको छ।
गत बिहीबार सियोलस्थित सामसङको रोबोटिक्स अनुसन्धान केन्द्रमा रोबोटको प्रदर्शन गरिएको थियो। प्रदर्शनमा रोह पनि सहभागी थिए। जानकार व्यक्तिका अनुसार उक्त प्रदर्शनमा रोबोटको शरीरलाई पूर्ण रूपमा नियन्त्रण गर्ने क्षमता तथा हात र पाखुराको प्रयोग गरी वस्तु उठाउने र चलाउने क्षमतामा ध्यान केन्द्रित गरिएको थियो।
सामसङले रोबोटको नमुना सार्वजनिक नगरेसम्म त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। कम्पनीले सार्वजनिक नगरेको नमुनाबारे जानकारी दिएका ती व्यक्तिले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा विवरण दिएका हुन्।
सामसङले विशेषगरी रोबोटको हातबाट वस्तु समात्ने र चलाउने क्षमतामा ध्यान दिएको छ। कारखानामा काम गर्ने मानवाकार रोबोटका लागि वस्तु भरपर्दो रूपमा समात्ने, घुमाउने र सही स्थानमा राख्ने क्षमता महत्त्वपूर्ण चुनौती मानिन्छ।
सामसङको आरएक्स रोबोटिक्स प्रयोगशालाका प्रमुख क्रिस हाउजरले गत सेप्टेम्बरमा रोबोटको कार्यक्षमताबारे टिप्पणी गर्दै कारखानामा प्रयोग गर्न उच्च सफलता दर आवश्यक पर्ने बताएका थिए।
‘तपाईं कारखानाका मालिककहाँ गएर तपाईंको रोबोटले ९९ प्रतिशत सफलता दरका साथ काम गर्छ भन्नुहुन्छ भने पनि उनीहरू हाँस्नेछन्। किनभने कारखानाको उत्पादन लाइनमा रोबोट प्रयोग गर्न यसको सफलता दर ९९.९९ प्रतिशत हुनुपर्छ’, उनले भनेका थिए।
उनले रोबोटिक्स क्षेत्रमा काम गर्नु अत्यन्त चुनौतीपूर्ण रहेको पनि बताएका थिए।
हाउजरका अनुसार सामसङको दीर्घकालीन योजनामा घरायसी काम गर्न सक्ने तथा वृद्धवृद्धालाई सहयोग गर्ने उपभोक्तामुखी रोबोट विकास गर्नु पनि समावेश छ।
गत मार्चमा सामसङले सन् २०३० सम्म आफ्ना कारखानालाई कृत्रिम बुद्धिमता (एआई) आधारित उत्पादन केन्द्रमा रूपान्तरण गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। कम्पनीले उत्पादन प्रक्रियामा मानवाकार रोबोटसमेत प्रयोग गर्ने योजना बनाएको छ।
सामसङले दक्षिणपूर्वी दक्षिण कोरियाको गुमी सहरमा मानवाकार रोबोट उत्पादन गर्ने लाइन स्थापना गर्ने योजना पनि सार्वजनिक गरेको छ। गुमी सहरमा कम्पनीका स्मार्टफोन उत्पादन गर्ने कारखाना रहेका छन्।
कम्पनीले अमेरिका, चीन र जापानमा पनि रोबोटिक्स अनुसन्धान तथा विकाससम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ। सामसङले यस वर्षको सुरुवातमा रोबोटिक्स क्षेत्रमा विकास र व्यावसायीकरणलाई तीव्र बनाउन आवश्यक परे लगानी तथा कम्पनी अधिग्रहण गर्ने जनाएको थियो।
यसअघि सन् २०२४ मा सामसङ दक्षिण कोरियाली रोबोटिक्स कम्पनी रेनबो रोबोटिक्सको सबैभन्दा ठूलो सेयरधनी बनेको थियो।
-सियोल/रोयटर्स






















