images
images
  • अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्रणालीमा ह्याकरको आक्रमण

    काठमाडौं– अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्लेटफर्म ‘क्लाउड वन’ ह्याकरको आक्रमणमा परेको छ। यस घटनाले संवेदनशील सैन्य रणनीति, कर्मचारी तथा सैन्य सामग्री व्यवस्थापनसम्बन्धी ठूलो परिमाणको तथ्याङ्क जोखिममा पर्न सक्ने देखिएको छ।

    यस विषयमा जानकार तीन व्यक्तिका अनुसार क्लाउड वन प्रणालीमा भएको साइबर आक्रमणबारे अमेरिकी वायुसेनाले हालै मात्र जानकारी पाएको हो। दुई जनाका अनुसार प्रणाली स्तरोन्नति गर्ने क्रममा करिब एक महिनाअघि उक्त अनधिकृत प्रवेश पत्ता लागेको थियो। घटनापछि क्लाउड वनका विभिन्न सेवा तथा कार्यसम्पादनमा अवरोध आएको छ।

    रोयटर्सले आक्रमणकारीको पहिचान, आक्रमणको पूर्ण दायरा तथा कुनै तथ्याङ्क चोरी भए-नभएको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

    रोयटर्सलाई दिएको प्रतिक्रियामा अमेरिकी वायुसेनाले भनेको छ, ‘हामी निश्चित नेटवर्क तथा प्रणालीको सुरक्षा अवस्था, कमजोरी वा सञ्चालनसम्बन्धी अवस्थाबारे टिप्पणी गर्दैनौँ। अमेरिकी वायुसेनासम्बन्धी सूचना, प्रणाली र सैन्य क्षमताको सुरक्षाका लागि हामी निरन्तर आवश्यक सावधानी अपनाउँदै आएका छौँ।’

    सबै सेवाको एउटै केन्द्र

    सन् २०१७ मा सुरु गरिएको क्लाउड वन परियोजनाको उद्देश्य अमेरिकी वायुसेनाका सूचना प्रविधिसम्बन्धी आवश्यकतालाई एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्नु थियो। यसमा माइक्रोसफ्ट, अमेजन, ओरेकल र अल्फाबेट गरी चार कम्पनीका प्रविधि तथा स्रोतलाई एकीकृत गरिएको छ।

    यस प्लेटफर्ममार्फत कर्मचारीको विवरण, तलब व्यवस्थापन, सैन्य सामग्रीको आपूर्ति, मर्मतसम्भारलगायतका विभिन्न काम सञ्चालन हुने एप्लिकेसनहरू चलाइन्छन्।

    क्लाउड वनमा सञ्चालन हुने प्रणालीमध्ये ‘क्लाउड बेस्ड कमान्ड एन्ड कन्ट्रोल’ पनि एक हो। यसले उत्तर अमेरिकाका विभिन्न स्थानबाट प्राप्त हुने हवाई रक्षा राडार तथा अन्य तथ्याङ्कलाई एकीकृत गर्छ।

    त्यस्तै ‘थिएटर इन्टिग्रेटेड कम्ब्याट म्युनिसन्स सिस्टम’ ले विश्वभर रहेका अमेरिकी वायुसेनाका २०० भन्दा बढी स्थानमा रहेका बम तथा क्षेप्यास्त्रको विवरण र अवस्थाबारे जानकारी राख्छ।

    सन् २०२६ सम्म क्लाउड वनको प्रमुख ठेकेदार एसएआईसी थियो। सन् २०२६ मा लिडोसले उक्त जिम्मेवारी लिएको हो। रोयटर्सले प्रतिक्रिया माग्दा एसएआईसीले कुनै जवाफ दिएन भने लिडोसले प्रश्न अमेरिकी वायुसेनातर्फ पठाएको थियो।

    स्रोतका अनुसार क्लाउड वन अमेरिकी सेनाका सबैभन्दा ठूला क्लाउड प्लेटफर्ममध्ये एक हो। घटनाबारे जानकार एक व्यक्तिले भने, ‘यस्तो प्रणालीमा भएको सुरक्षा उल्लङ्घन निकै गम्भीर विषय हो।’

    घटनाबाट भएको क्षतिको मूल्याङ्कन गर्न अमेरिकी सेनाको साइबर सुरक्षा निकाय साइबर कमान्डलाई समेत अनुसन्धानमा संलग्न गराइएको एक स्रोतले जनाएको छ। साइबर कमान्डले भने रोयटर्सको प्रतिक्रियाका लागि गरिएको अनुरोधको जवाफ दिएको छैन।

    विभिन्न सेवामा अवरोध

    साइबर आक्रमणको जानकारी सार्वजनिक भएपछि क्लाउड वनका विभिन्न सेवामा अवरोध देखिएको छ।

    दुई स्रोत र घटनाबारे जानकार अर्का एक व्यक्तिका अनुसार सैन्य कार्यालयका आन्तरिक प्रशासनिक एप्लिकेसनहरूलाई क्लाउड वनमा स्थानान्तरण गर्ने काम रोकिएको छ। अमेरिकी सेनाले लामो समयदेखि प्राथमिकतामा राख्दै आएको उक्त प्रक्रिया हालका लागि स्थगित गरिएको हो।

    त्यस्तै क्लाउड वनमा पहिलेदेखि सञ्चालनमा रहेका एप्लिकेसनहरूमा अद्यावधिक गर्नसमेत रोक लगाइएको छ। प्रविधि क्षेत्रमा नयाँ गम्भीर सफ्टवेयर सुरक्षा कमजोरीहरू सार्वजनिक भइरहेका बेला वायुसेनाका कर्मचारीले आवश्यक सुरक्षा सुधार तथा अद्यावधिक गर्न नपाएको बताइएको छ।

    अर्का एक स्रोतका अनुसार केही प्रयोगकर्ताको प्रशासकीय अधिकारसमेत हटाइएको छ। यस घटनाबारे जानकारी दिने पाँचै जना स्रोतले आफ्नो पहिचान सार्वजनिक नगर्ने सर्तमा रोयटर्ससँग कुरा गरेका हुन्।

    एक स्रोतका अनुसार साइबर आक्रमणकारीले सफ्टवेयरको सुरक्षा कमजोरीको फाइदा उठाउँदै प्रणालीको ‘कन्ट्रोल प्लेन’ सम्म पहुँच बनाएका थिए।

    कन्ट्रोल प्लेनलाई सम्पूर्ण प्रणाली नियन्त्रण गर्न सकिने एउटा साझा रिमोटसँग तुलना गर्दै ती स्रोतले आक्रमणकारीले त्यसको पहुँच प्रयोग गरेर सैन्य विमानको सञ्चालन अवस्था वा स्पेयर पार्ट्सको आवागमनसमेत निगरानी गर्न सक्ने सम्भावना रहेको बताए।

    यद्यपि यस घटनामा ह्याकरहरूले वास्तवमै त्यस्तो जानकारी प्राप्त गरे वा गरेनन् भन्ने स्पष्ट हुन सकेको छैन। रोयटर्सले आक्रमणकारीले प्रयोग गरेको सफ्टवेयरको सुरक्षा कमजोरी कुन थियो भन्ने पहिचान गर्न सकेको छैन।

    साइबर आक्रमणका घटनामा वृद्धि

    क्लाउड वनमा भएको आक्रमणको खबर कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट हुन सक्ने साइबर आक्रमणप्रति चिन्ता बढिरहेका बेला सार्वजनिक भएको हो।

    विशेषगरी क्लाउडमा आधारित नेटवर्कका लागि एआई प्रविधिबाट हुने साइबर आक्रमण चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ। एआई मोडेलहरूले ठूलो क्षेत्रभित्र रहेका सुरक्षा कमजोरी छिटो पहिचान गर्न सक्ने भएकाले यस्ता प्रणाली थप जोखिममा पर्न सक्ने बताइएको छ।

    अमेरिकी सरकारले पछिल्लो समय सार्वजनिक भएका कम्तीमा ६ वटा अन्य साइबर सुरक्षा घटनाको असरसमेत सामना गरिरहेको छ। ती घटनामध्ये दुईवटा संघीय अनुसन्धान ब्युरो (एफबीआई) मा भएका साइबर आक्रमण हुन् ।

    यसअघि पेन्टागनको तथ्याङ्कसमेत ह्याक भएको थियो। गृह सुरक्षा विभाग (डीएचएस) का कर्मचारीहरूको व्यक्तिगत विवरण सार्वजनिक भएको घटना पनि बाहिरिएको थियो।

    त्यसैगरी कम्तीमा दुईवटा गुप्तचर निकाय प्रभावित भएको साइबर सुरक्षा घटना र अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय अपराध नियन्त्रण सञ्जाल (फिनसेन) मा भएको साइबर आक्रमण पनि हालै सार्वजनिक भएका छन्।

    क्लाउड वन लामो समयदेखि ह्याकरहरूको निशानामा पर्दै आएको प्रणाली हो।

    सन् २०२३ मा अनलाइन प्रकाशन फेडस्कुपमा प्रकाशित एक टिप्पणीमा क्लाउड वनका नेतृत्वकर्ताहरूले उक्त प्रणालीमा भएका साइबर आक्रमणका प्रयासलाई असफल बनाउन आफूहरू शत प्रतिशत सफल भएको दाबी गरेका थिए। उनीहरूले प्रणालीमा प्रवेश गर्ने प्रयासको सङ्ख्या निकै ठूलो रहेकोसमेत बताएका थिए।

    त्यतिबेला क्लाउड वनका नेतृत्वकर्ताहरूले लेखेका थिए, ‘सुरक्षाको विषयमा कुनै पनि त्रुटिका लागि ठाउँ हुँदैन।’

    -रोयटर्स

    प्रतिक्रिया दिनुहोस्
    images
    images