images
images
  • फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्तेविरुद्ध आईसीसीमा सुनुवाइ हुँदै, ‘द पनिसर’ ले पाउलान् त सजाय ?

    काठमाडौं– अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सोमबार फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्तेविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको सुनुवाइ सुरु गर्दैछ। यससँगै फिलिपिन्सको इतिहासकै सबैभन्दा हिंसात्मक र विभाजनकारी घटनामध्येको एउटा अध्याय पनि पुनः खुल्नेछ।

    डुटेर्तेका समर्थकहरू, जो अझै पनि उनीप्रति लोकप्रिय समर्थन राख्छन्, उनलाई नेदरल्यान्ड्सको हेगस्थित अदालतमा उपस्थित गराउनु नै नहुने तर्क गर्छन्। उनीहरूले राष्ट्रपति फर्डिनान्ड मार्कोसको वर्तमान सरकारले उनलाई विदेशी अदालतमा बुझाएर राष्ट्रिय सार्वभौमसत्ता बेचेको आरोप लगाएका छन्।

    डुटेर्तेको लागुऔषधविरोधी अभियानका क्रममा मारिएका हजारौं व्यक्तिका परिवारका लागि यो सुनुवाइ न्यायिक जवाफदेहिताको आशा र आफूहरूले भोगेको पीडाको सार्वजनिक स्वीकारोक्तिको अवसर बनेको छ। हत्याको शृङ्खला सुरु भएको १० वर्ष बितिसक्दा पनि फिलिपिन्सभित्र उनीहरूले यस्तो न्याय र मान्यता पाउन सकेका छैनन्।

    ८१ वर्षीय डुटेर्तेमाथि लागुऔषधविरुद्धको अभियानका क्रममा हत्या र हत्या प्रयाससम्बन्धी तीन वटा अभियोग लगाइएको छ। उक्त अभियानमा लागुऔषध कारोबारमा संलग्न भएको आरोप लागेका हजारौँ व्यक्तिलाई गोली हानी मारिएको थियो। तीमध्ये धेरैका परिवारले आफ्ना आफन्त निर्दोष रहेको बताउँदै आएका छन्।

    लियोनिला इग्नासियो सात वर्षअघि आफ्नी १५ वर्षीया छोरी प्रिन्सेस बेपत्ता भएको दिन सम्झँदै गर्दा उनका आँखाबाट आँसु झरिरहेका छन्।

    उनले मनिलास्थित एउटा चर्च फाउन्डेसनको प्रार्थना स्थलमा भेट्न सहमति जनाएकी थिइन्। किनभने आफ्नो घरनजिक यस घटनाबारे कुरा गर्दा उनी आफूलाई सुरक्षित महसुस गर्दिनन्। फिलिपिन्सको राजनीतिक वातावरण अत्यन्तै ध्रुवीकृत बनेको छ। पीडित परिवारका सदस्यहरूलाई सामाजिक सञ्जालमा बारम्बार आक्रमण गर्ने र धम्की दिने गरिएको छ।

    प्रिन्सेस साथी केटाहरूको एउटा समूहलाई भेट्न गएकी थिइन्। सीसीटीभी फुटेजमा उनलाई केही व्यक्तिले नियन्त्रणमा लिएर प्रहरीको गाडीमा हाल्दै गरेको देखिएको थियो। उनले प्रहरीसँग बुझ्दा आफूहरूले प्रिन्सेसलाई नलगेको जवाफ दिएका थिए। इग्नासियोका अनुसार त्यसपछि पनि उनलाई कुनै सहयोग प्राप्त भएन।

    उनले भनिन्, ‘त्यति बेला अवस्था निकै कठिन थियो। आफू पागल हुन लागेको जस्तो महसुस हुन्थ्यो। सबै कुरा त्यागिदिऊँ जस्तो लाग्थ्यो। सकिँदैनथ्यो, किनकि तपाईँ एउटा जीवनका लागि लडिरहनुभएको हुन्छ। उनीहरूले मेरो बच्चाको शव मात्रै देखाइदिएको भए पनि हुन्थ्यो। यो सबै सहन निकै कठिन छ। त्यो पीडा अझै मभित्र छ, अझै दुख्छ। म चाहेर पनि आँसु रोक्न सक्दिनँ।’

    उनीसँगै र्यान्डी डेलोस सान्तोस पनि छन्। सन् २०१७ अगस्टमा प्रहरीको गोलीबाट मारिएका १७ वर्षीय किशोर कियान उनका भतिजा थिए।

    लागुऔषधविरुद्धको युद्धका क्रममा भएका हत्यामध्ये कियानको घटना थोरै अनुसन्धान भएका घटनामध्ये एक थियो। प्रहरीले उनलाई निःशस्त्र अवस्थामा आफ्नो नियन्त्रणमा राखेर गोली हानेको पर्याप्त प्रमाण भेटिएपछि घटनाको उचित अनुसन्धान भएको थियो।

    phillipinces victims

    कियानको हत्यामा संलग्न तीन प्रहरी अधिकारी दोषी ठहर भएका थिए। त्यसका बाबजुद उनका काका डुटेर्तेलाई हेगमा मुद्दा चलाइएको देख्न पाउँदा खुसी छन्।

    उनले भने, ‘धन्य, एउटा यस्तो अदालत रहेछ जसले हाम्रो कुरा सुन्यो। फिलिपिन्समा व्यापक हत्या भएको देख्न र बुझ्न सहयोग गर्ने मानिसहरू रहेछन् भन्नेमा पनि खुसी छु। सत्तामा रहेको कुनै व्यक्तिले आफ्नो अधिकारको दुरुपयोग गरेर नागरिकको मानव अधिकार उल्लङ्घन गरेको रहेछ।’

    उनका अनुसार कियानको हत्याबारे पनि उनले प्रहरीबाट खासै सहयोग नपाएपछि आफैँले अनुसन्धान गर्नुपरेको थियो।

    लागुऔषधविरुद्धको युद्धबारे समाचार लेखेका हामी पत्रकारका लागि यो अहिलेसम्मकै सबैभन्दा पीडादायी घटनामध्ये एक थियो। सन् २०१६ मा डुटेर्तेले राष्ट्रपतिको शपथ लिएको दिनदेखि नै शवहरू भेटिन थालेका थिए।
    निर्वाचन प्रचारका क्रममा उनले निकै डरलाग्दा प्रतिबद्धता व्यक्त गरेका थिए। उनले एक लाख अपराधीलाई मार्ने र उनीहरूको शवबाट मनिला खाडीका माछालाई मोटाउने बनाउने बताएका थिए।

    तर धेरैले उनको अभिव्यक्तिलाई केवल कठोर नेताको छविका रूपमा लिएका थिए। दक्षिणी सहर दाभाओको मेयर हुँदा उनले लागू गरेका क्रूर अपराध नियन्त्रणका नीतिलाई देशव्यापी रूपमा विस्तार गर्ने प्रयास उनीबाट हुनेछैन भन्ने धेरैको अनुमान थियो। मेयरका रूपमा अपनाएका कठोर नीतिका कारण उनलाई ‘द पनिसर’ अर्थात् दण्ड दिने व्यक्ति भन्ने उपनामसमेत दिइएको थियो।

    लागुऔषधविरुद्धको अभियानका क्रममा प्रहरीले ‘तोखाङ’ अर्थात् घरघरमा ढोका ढकढक्याउने कारबाही सञ्चालन गरेको थियो। लागुऔषध सेवन वा कारोबार गरेको आशङ्का गरिएका व्यक्तिहरूलाई लक्षित गरी यस्तो अभियान चलाइएको थियो।

    यस्ता कारबाहीको अन्त्य प्रायः लक्षित व्यक्तिहरूलाई गोली हानेर मार्ने घटनामा हुन्थ्यो। प्रहरीले भने उनीहरूले पक्राउको प्रतिरोध गरेको वा प्रहरीमाथि आक्रमण गर्न खोजेको दाबी गर्थ्यो।

    त्यसबाहेक हत्याका लागि परिचालित समूहहरू पनि सक्रिय थिए। उनीहरू प्रहरीको पोसाक नलगाएका, प्रायः मोटरसाइकलमा सवार हतियारधारी व्यक्ति हुन्थे। प्रहरी वा लागुऔषध तस्करीमा संलग्न समूहहरूले उनीहरूलाई भाडामा लिएर हत्या गर्न लगाउने गरेको आरोप थियो। उनीहरूले सवारी चलाइरहेका व्यक्तिलाई समेत गोली हानेर मार्ने गर्थे।

    सन् २०१६ मा मैले लागुऔषध कारोबारमा संलग्न भ्रष्ट प्रहरी अधिकारीबाट हत्याका लागि भर्ती गरिएको एक युवतीसँग अन्तर्वार्ता लिएको थिएँ। उनले डुटेर्ते निर्वाचित भएको तीन महिनाभित्र पाँच जनाको हत्या गरेको बताएकी थिइन्। आफूले गरिरहेको कामप्रति उनी स्पष्ट रूपमा मानसिक तनावमा थिइन्।

    श्रीमान्लाई जेलबाट छुटाउन आफूलाई यस्तो काम गर्न बाध्य पारिएको उनले बताएकी थिइन्। त्यति बेला उनी आफ्नो ज्यान जोगाउन लुकेर बसिरहेकी थिइन्। त्यसपछि उनीसँग के भयो भन्ने कुरा हामीले अहिलेसम्म पत्ता लगाउन सकेका छैनौँ।

    कहिलेकाहीँ हत्याको शृङ्खला नियन्त्रण बाहिर गएको जस्तो देखिन्थ्यो। प्रहरीले निश्चित सङ्ख्यामा हत्या गर्ने लक्ष्य पूरा गर्न खोजिरहेको देखिन्थ्यो। राष्ट्रपति डुटेर्तेले प्रहरीलाई रोक्नुको सट्टा कारबाही जारी राख्न र कानुनी परिणामको चिन्ता नगर्न प्रोत्साहित गर्थे।

    उनले प्रहरी अधिकारीहरूलाई भनेका थिए, ‘तिमीहरूको सट्टा जेल जाने म हुँ।’

    सन् २०१७ अगस्टमा मनिलाको उत्तरमा रहेको बुलाकान प्रान्तमा एकै रात ३२ जनाको हत्या भएपछि डुटेर्तेले हरेक रात ३२ जनाको हत्या भएको हेर्न चाहेको बताएका थिए। एक समय उनले आफूलाई जर्मनीका तानाशाह एडोल्फ हिट्लरसँग समेत तुलना गरेका थिए।

    अन्तर्राष्ट्रिय फौजदारी अदालतले डुटेर्तेमाथि ७६ जनाको मृत्युसँग सम्बन्धित अभियोग लगाएको छ। अभियोजनकर्ताहरूका अनुसार यी घटनाहरू अझ व्यापक रूपमा भएका हत्याको शृङ्खलाका केही उदाहरण मात्रै हुन्।

    यी मुद्दाहरू डुटेर्ते राष्ट्रपति निर्वाचित हुनुअघिका घटनासम्म फैलिएका छन्। उनी दाभाओ सहरको मेयर हुँदा पनि मृत्यु दस्ता सञ्चालन गरेको आरोप छ। राष्ट्रपति बनेपछि डुटेर्तेले सन् २०१९ मार्चमा फिलिपिन्सलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट अलग गराएका थिए।

    आईसीसीले उक्त मितिभन्दा अघि भएका कथित अपराधमाथि आफ्नो अधिकार क्षेत्र कायम रहने बताएको छ। साथै लागुऔषधविरुद्धको युद्धका क्रममा भएका सामूहिक हत्यामा संलग्न व्यक्तिहरूमाथि फिलिपिन्सले अनुसन्धान र अभियोजन गर्न असफल भएकाले हेगस्थित अदालतलाई उनीहरूमाथि मुद्दा चलाउने अधिकार रहेको उसको भनाइ छ।

    आईसीसीले आफूलाई ‘अन्तिम उपायको अदालत’ का रूपमा व्याख्या गर्दै आएको छ। यसको अर्थ राष्ट्रिय अदालतबाट न्याय प्राप्त हुन नसकेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमा न्यायिक प्रक्रिया अघि बढाउन सकिन्छ भन्ने हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images