सेप्टेम्बर २०२५ देखि नेपालमा परम्परागत राजनीतिक प्रक्रियामा आएको विच्छेदले नयाँ पुस्ताका युवा र गतिशील नेताहरूलाई उदाउने अवसर दियो। भारतको यी नयाँ नेताहरूसँग तुलनात्मक रूपमा निकै कम सम्पर्क थियो। त्यसैले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमण दुई देशका राजनीतिक नेतृत्वका लागि एकअर्कालाई बुझ्ने, सम्बन्धको अवस्था मूल्यांकन गर्ने र पारस्परिक विश्वास विकास गर्ने दृष्टिले अत्यन्त महत्त्वपूर्ण थियो।
यो आकांक्षी पुस्ता विगतको राजनीतिक विरासतको बोझबाट मुक्त छ। यसले आर्थिक साझेदारी र विकास कूटनीतिमा विश्वास गर्छ। यो सन्देश भारतसँग पनि मेल खान्छ। नेपालमा भारतले सामना गर्दै आएको एउटा समस्याका रूपमा भारतविरोधी राष्ट्रवादी भावना रहेको छ, जुन विकास साझेदारीका लागि ठूलो अवरोध बन्दै आएको थियो। नयाँ सरकार वैचारिकभन्दा पनि व्यावहारिक छ। उसले नेपालको विकासका लागि भारतको सहयोग महत्त्वपूर्ण रहेको स्वीकार गरेको छ।
सायद यस भ्रमणको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि पहिलोपटक दुई देशले तयार पारेको व्यापक र भविष्यदर्शी दृष्टिपत्र हो, ‘विकसित भारत र समुन्नत नेपाल’। यसले सहकार्यका १० वटा आधारस्तम्भ, प्रत्येक क्षेत्रमा प्राथमिकताका विषय र कार्यान्वयनका तौरतरिका पहिचान गरेको छ। नेपालका परराष्ट्र सचिव र भारतका राजदूतको नेतृत्वमा रहने अनुगमन संयन्त्रले प्रत्येक ६ महिनामा यसको कार्यान्वयनको समीक्षा गर्नेछ।
विगतमा भारतले वाचा गर्ने, तर कार्यान्वयन नगर्ने गुनासो रहँदै आएको थियो। अब वाचा र कार्यबीच तालमेल मिलाउन सकिने प्रक्रिया स्थापित भएको छ। मलाई लाग्छ, हामीले हरेक छिमेकी मुलुकसँग पनि यस्तै प्रक्रिया अपनाउनुपर्छ।
भारतले नेपाललाई दिएको १५ हजार करोड रुपैयाँको विकास सहायता प्याकेज, जसमध्ये ३ हजार ५०० करोड रुपैयाँ अनुदान र ११ हजार ५०० करोड रुपैयाँ ऋण सुविधा रहेको छ, नेपाललाई भारतले दिएको अहिलेसम्मकै सबैभन्दा ठूलो सहायता हो। यसले नयाँ सरकारप्रति नयाँ दिल्लीको समर्थन देखाउँछ।
सन् २०२५-२६ मा दुई देशबीचको वस्तु व्यापार ९.३९ अर्ब अमेरिकी डलर (९८७ हजार करोड रुपैयाँ) पुगेको थियो। यसमा भारतको निर्यात ७.४५ अर्ब अमेरिकी डलर (९६९ हजार ३६ करोड रुपैयाँ) थियो। नेपालबाट भारततर्फ विद्युत् निर्यात बढाउनसके यस व्यापार असन्तुलनलाई केही हदसम्म सम्बोधन गर्न सकिन्छ। यो सहकार्यलाई उपक्षेत्रीयस्तरसम्म विस्तार गर्दै बंगलादेश र पछि भुटानलाई पनि समेट्नुपर्छ।
भोटेकोशीमा आएको बाढीमा भारत पहिलो उद्धारकर्ता बनेको थियो, जसरी सन् २०१५ को भूकम्पका बेला पनि भारतले तत्काल सहयोग गरेको थियो। जलवायु परिवर्तन र त्यसको जनजीवन तथा जीविकोपार्जनमा पर्ने प्रभाव पनि द्विपक्षीय एजेन्डाको अभिन्न हिस्सा बनेका छन्। यसमा पूर्वसूचना प्रणाली र जलसम्बन्धी तथ्यांक आदानप्रदानमा विशेष जोड दिइएको छ। बालेन्द्र शाहले न्यु योर्कमा संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्दा भारत, नेपाल र चीनबीच त्रिपक्षीय सहकार्यको प्रस्ताव गरेका थिए। भारतले यो प्रस्तावलाई सकारात्मक रूपमा विचार गर्नुपर्छ।
खेल कूटनीति, विशेषगरी क्रिकेट र भारत तथा नेपालको स्टार्टअप इकोसिस्टमलाई जोड्ने पहल नयाँ पुस्ताका आकांक्षी युवासम्म पुग्ने उत्कृष्ट माध्यम हुन्। तर प्रस्तावित संयुक्त जलविद्युत्, सिंचाइ तथा बाढी नियन्त्रण बाँध परियोजना पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा कुनै निष्कर्ष ननिस्कनुमा म केही निराश छु। यद्यपि दुवै प्रधानमन्त्रीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम रूप दिन प्रक्रिया तीव्र बनाउने सहमति गर्नु सकारात्मक कुरा हो।
सीमा विवाद तथा सन् १९५० को शान्ति तथा मैत्री सन्धिसँग सम्बन्धित विषयमा भ्रमणका क्रममा कुनै ठोस प्रगति नभएको भन्दै नेपालमा केही आलोचना पनि भएको छ। यी विषयमा छलफल सुरु गर्नु महत्त्वपूर्ण छ। तर तिनले आर्थिक साझेदारीमा नकारात्मक प्रभाव पार्न दिनु हुँदैन।
सन् २०२६ मार्चमा सत्तामा आएका बालेन्द्र शाह अझै अत्यन्त लोकप्रिय छन्। उनको सरकारसँग बलियो जनादेश छ। तर नेपालमा सरकारले एकैपटक धेरै मोर्चा खोल्न खोजिरहेको भन्ने धारणा पनि छ। राज्यको जहाज बिस्तारै अघि बढ्छ। यी युवा मानिस काम छिटो सम्पन्न गर्न अधीर छन्, र काम गर्दै सिकिरहेका छन्। आगामी दिनमा हाम्रो सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता आर्थिक साझेदारीमा, विशेषगरी ऊर्जाको क्षेत्रमा केन्द्रित रहनु हो।
सन् २०२५-२६ मा दुई देशबीचको वस्तु व्यापार ९.३९ अर्ब अमेरिकी डलर (९८७ हजार करोड रुपैयाँ) पुगेको थियो। यसमा भारतको निर्यात ७.४५ अर्ब अमेरिकी डलर (९६९ हजार ३६ करोड रुपैयाँ) थियो। नेपालबाट भारततर्फ विद्युत् निर्यात बढाउनसके यस व्यापार असन्तुलनलाई केही हदसम्म सम्बोधन गर्न सकिन्छ। यो सहकार्यलाई उपक्षेत्रीयस्तरसम्म विस्तार गर्दै बंगलादेश र पछि भुटानलाई पनि समेट्नुपर्छ।
नेपालमा भारतमाथि अत्यधिक निर्भर भइने हो कि भन्ने डर रहँदै आएको छ। हामीले निर्भरताको कथ्यलाई परस्पर निर्भरतामा बदल्नुपर्छ।
भारतले ऊर्जाका लागि नेपालतर्फ हेर्छ भने नेपाल आफ्नो अधिकांश निर्यात तथा बाँकी विश्वसँगको पहुँचका लागि भारतमा निर्भर छ। जब नेपाली जनताले यस सहकार्यबाट प्रत्यक्ष लाभ पाइरहेको देख्न थाल्छन्, दुई देशबीचको सम्बन्धलाई जटिल बनाइरहेका अन्य मुद्दाहरू सम्बोधन गर्न पनि धेरै सहज हुनेछ।
(लेखक रे नेपालका लागि भारतीय पूर्वराजदूत हुन्।)


रञ्जित रे 



















