काठमाडौं– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रधानमन्त्री साने ताकाइची नेतृत्वको एक राजनीतिक शाखाले एउटै व्यावसायिक समूहअन्तर्गतका चार कम्पनीबाट कुल ३ करोड येन (करिब १ लाख ८८ हजार अमेरिकी डलर) राजनीतिक चन्दा प्राप्त गरेको खुलासा भएको छ।
जापानी पत्रिका ‘शुकान बुन्शुन’ ले शनिबार प्रकाशित गरेको रिपोर्टअनुसार ताकाइची प्रतिनिधि रहेको एलडीपीको नारा प्रिफेक्चर नम्बर २ निर्वाचन क्षेत्रीय शाखाले सन् २०२५ नोभेम्बरमा ओसाका प्रिफेक्चरमा रहेका चार कम्पनीबाट जनही ७५ लाख येनका दरले चन्दा प्राप्त गरेको हो। उक्त विवरण सोही वर्षको शाखाको राजनीतिक कोषसम्बन्धी प्रतिवेदनमा उल्लेख छ।
पत्रिकाले गरेको अनुसन्धानअनुसार निर्माण, घरजग्गा तथा होटल सञ्चालनलगायतका व्यवसायमा संलग्न ती चारवटै कम्पनी ओसाका प्रिफेक्चरमा मुख्यालय रहेको एउटै निर्माण कम्पनीअन्तर्गत सञ्चालनमा छन्।
कोबे गाकुइन विश्वविद्यालयका प्राध्यापक हिरोशी कामिवाकीले राजनीतिक कोष नियन्त्रण ऐनले कम्पनीको दर्ता पुँजीका आधारमा राजनीतिक चन्दाको सीमा निर्धारण गरेको बताएका छन्। कुनै निश्चित कम्पनी वा संस्थाले राजनीतिमा अनुचित प्रभाव पार्न नपाओस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।
एउटै व्यावसायिक समूहअन्तर्गतका विभिन्न कम्पनीबाट ठूलो रकम चन्दा स्वीकार गर्नु कानुनको भावनाविपरीत हुने र त्यसलाई कानुनी व्यवस्थाको सीमा छल्ने प्रयासका रूपमा समेत लिन सकिने उनले बताएका छन्।
‘शुकान बुन्शुन’ का अनुसार यस विषयमा ताकाइचीको कार्यालयलाई लिखित प्रश्न पठाइए पनि हालसम्म कुनै जवाफ प्राप्त भएको छैन।
प्रधानमन्त्री ताकाइची यसअघि पनि राजनीतिक कोष तथा चन्दासम्बन्धी विषयमा पटकपटक विवादमा पर्दै आएकी छन्। सन् २०२५ डिसेम्बरमा उनी सम्बद्ध एलडीपीको एक शाखाले कथित रूपमा अनुचित कर्पोरेट चन्दा स्वीकार गरेको विषयमा उजुरी परेको थियो।
त्यसैगरी सन् २०२६ जुनमा ताकाइची स्वयम्ले राजनीतिक कोषसम्बन्धी विवरणमा झूटो जानकारी दिएको आशंकामा अर्को उजुरी दर्ता गरिएको थियो।
-टोकियो/सिन्ह्वा






















