काठमाडौं- सरकारले विधि विज्ञान (फरेन्सिक साइन्स) क्षेत्रमा कार्यरत विशेषज्ञका लागि स्नातकोत्तर (मास्टर्स) तहको शैक्षिक योग्यता अनिवार्य बनाउन प्रस्ताव गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलका क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।
मन्त्री पुनले विगतमा स्नातक तहलाई पर्याप्त योग्यता मानिने भए पनि विज्ञान र प्रविधिको तीव्र विकाससँगै फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तहको अध्ययन अपरिहार्य भइसकेको बताए ।
उनले अनुसन्धान र न्यायिक प्रक्रियामा फरेन्सिक विज्ञानको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले योग्यतामा सम्झौता गर्न नहुने धारणा राखे। दक्ष जनशक्तिको अभाव भए सरकारले अध्ययन र तालिमको व्यवस्था गरेर नयाँ जनशक्ति उत्पादन गर्नुपर्ने भए पनि न्यून योग्यतामा विशेषज्ञ नियुक्त गर्नु उचित नहुने उनको भनाइ थियो ।
मन्त्री पुनले विधेयकमा विद्यमान रासायनिक, भौतिक र जैविक प्रमाणसँगै डिजिटल वा विद्युतीय प्रमाणलाई पनि स्पष्ट रूपमा समेट्नुपर्ने आवश्यकता औँल्याए । प्रविधिको विस्तारसँगै साइबर तथा डिजिटल माध्यमबाट हुने अपराध बढ्दै गएकाले त्यस्ता प्रमाणलाई कानुनी मान्यता दिनुपर्ने उनको तर्क थियो ।
तालिमसम्बन्धी व्यवस्थामा पनि स्पष्ट मापदण्ड आवश्यक रहेको उल्लेख गर्दै उनले सामान्य प्रकृतिका तालिमभन्दा मान्यता प्राप्त विश्वविद्यालय वा प्रमाणित संस्थाबाट हासिल गरिएको विशिष्ट तालिमलाई मात्र आधिकारिक मान्यता दिनुपर्ने बताए ।
मन्त्री पुनले मन्त्रालयको नाम वा संरचना समय–समयमा परिवर्तन भए पनि विधि विज्ञानको जिम्मेवारी विज्ञान तथा प्रविधि क्षेत्र हेर्ने मन्त्रालयकै मातहत रहनुपर्ने धारणा व्यक्त गरे। विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई एउटै नीतिगत ढाँचामा अघि बढाउन आवश्यक रहेको उनको भनाइ थियो ।























