काठमाडौं- राजस्व हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा पर्सा मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा (नासु) स्वर्गीय किरणप्रसाद उपाध्यायलाई विशेष अदालतले मृत्युपछि दोषी ठहर गरेको छ । मंगलबार भएको फैसलामा अदालतले उनको मृत्यु भइसकेकाले फौजदारी सजाय लागू नहुने भए पनि भ्रष्टाचारबाट भएको क्षतिको बिगो उनका चार छोराबाट असुल गर्न आदेश दिएको हो ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले उपाध्यायका चार छोरा- पशुपतिप्रसाद, मुरारीप्रसाद, गौतमप्रसाद र राजकिशोरप्रसाद उपाध्यायबाट कुल २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ दामासाहीका आधारमा असुल गर्नुपर्ने फैसला सुनाएको छ। प्रत्येकले ७३ लाख ४२ हजार १४१ रुपैयाँ २५ पैसा बराबरको रकम तिर्नुपर्नेछ।
यसै मुद्दामा प्रतिवादी बनाइएका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण शाह, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मी भने प्रमाण अभावमा सफाइ पाएका छन् । अदालतले राजस्व दाखिला गर्ने प्रत्यक्ष जिम्मेवारी मालपोत अधिकृतको नभई सम्बन्धित रजिस्ट्रेसन फाँटका कर्मचारीको रहेको निष्कर्ष निकालेको छ ।
अदालतका अनुसार उपाध्यायले ३१९ वटा लिखत पारित गर्ने क्रममा करिब २ करोड ९१ लाख रुपैयाँ राजस्व हिनामिना गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ चैतमा मुद्दा दायर गर्दा उनी जीवित थिएनन् । त्यसैले आयोगले कानुनी व्यवस्थाअनुसार उनका अंशियारलाई पनि प्रतिवादी बनाएको थियो ।
फैसलामा भ्रष्टाचार निवारण ऐन, २०५९ र फौजदारी कार्यविधि संहिता, २०७४ को व्यवस्था उल्लेख गर्दै प्रतिवादीको मृत्यु भए पनि राज्यलाई भएको आर्थिक क्षति अंशियारबाट असुल गर्न सकिने स्पष्ट गरिएको छ।
अख्तियारले यसअघि नै उपाध्यायका अंशियारको सम्पत्ति रोक्का राखेर मुद्दा अघि बढाएको थियो। कानुनअनुसार प्रतिवादीको मृत्यु हुँदैमा भ्रष्टाचार वा आर्थिक अपराधबाट उन्मुक्ति नपाइने र हानि–नोक्सानीको बिगो सम्पत्ति खाने अंशियारबाट असुल गर्न सकिने व्यवस्था रहेको छ।
यो घटना आर्थिक वर्ष २०७१/७२ मा पर्सा मालपोत कार्यालयको फाँट ‘ग’ मा भएको राजस्व हिनामिनासँग सम्बन्धित हो। अनुसन्धानका क्रममा एउटै रजिस्ट्रेसन नम्बर दोहोरो वा तेहोरो प्रयोग गरी एकभन्दा बढी लिखत पास गरिएको, कम राजस्व भएका लिखत मात्र बैंकमा दाखिला गरिएको तथा बढी राजस्व भएका लिखतको अभिलेख नै नराखी रकम हिनामिना गरिएको खुलेको थियो। अख्तियारले लिखत पारित गर्ने अधिकृतहरूको पनि मिलेमतो रहेको दाबी गरे पनि विशेष अदालतले त्यसको पर्याप्त प्रमाण नदेखिएको भन्दै उनीहरूलाई सफाइ दिएको छ।























