काठमाडौं- सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अध्यागमन विभागलाई सन् २०१५ देखि २०२४ सम्म नेपाल–बेलायत आवतजावतको प्रमाणित अभिलेख पेश गर्न आदेश दिएको छ ।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले कँडेलको उक्त अवधिको नेपाल र बेलायत बसाइ तथा आवतजावतसम्बन्धी सम्पूर्ण विवरण झिकाउन निर्देशन दिएको हो।
इजलासले कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गर्ने सम्बन्धमा प्रधानमन्त्रीबाट २०८२ चैत २२ गते भएको निर्णयसमेत पेश गर्न आदेश दिएको छ।
महान्यायाधिवक्ताका लागि सर्वोच्च अदालतको न्यायाधीश सरहको योग्यता आवश्यक पर्ने व्यवस्था रहेको भन्दै डा। कँडेल उक्त योग्यता पूरा नगरेको दाबी गर्दै अधिवक्ता माधवकुमार बस्नेत, शिराज बराल र दीपकराज जोशीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
उक्त निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले आवश्यक कागजात र अभिलेख झिकाउने आदेश जारी गरेको हो।























