images
images
  • नेपाल बैंकका ग्राहक र कर्मचारीलाई ॐ समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

    काठमाडौं- नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि.बीच बैंकका खातावाला ग्राहक तथा कर्मचारीलाई दन्त उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

    सोमबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरूले काठमाडौंका चावहिल, नैकाप, वनस्थली र सातदोबाटो तथा महोत्तरीको बर्दिवासस्थित ॐ समाज डेन्टल हस्पिटलका शाखाहरूबाट उपचार गराउँदा बिरामी दर्ता तथा प्रारम्भिक चेकअप शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । साथै अस्पतालले प्रदान गर्ने विभिन्न दन्त तथा मुख स्वास्थ्यसम्बन्धी सेवामा १५ देखि २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

    सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि.का प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका छन् ।

    बैंकका अनुसार यस सम्झौताले नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई गुणस्तरीय दन्त तथा मुख स्वास्थ्य सेवा सहुलियत दरमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेडले हाल देशभर २३१ शाखा, २४६ एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधि, दक्ष व्यवस्थापन तथा ग्राहक केन्द्रित सेवामार्फत आफ्नो सेवा विस्तारलाई निरन्तरता दिइरहेको बताएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images