काठमाडौं– नेपाल लाइफ म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को खुद नाफा एक महिनामै ८७ प्रतिशतले घटेको छ ।
२०८३ कात्तिक मसान्तको अपरिष्कृत वित्तीय विवरणअनुसार योजनाको खुद नाफा असोजमा ७ करोड ५२ लाख ४६ हजार रुपैयाँ रहेकामा कात्तिकमा घटेर ९९ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ ।
दुई अर्ब रुपैयाँ प्रारम्भिक पुँजीबाट सुरु भएको योजनाको खुद सम्पत्ति घटेर १ अर्ब ८८ करोड ४६ लाख रुपैयाँमा झरेको छ । योजना सुरु भएयता लगानीकर्ताले ११ करोड ५३ लाख ९९ हजार रुपैयाँ अर्थात् ५।७७ प्रतिशत पुँजी गुमाएका छन् ।
त्यस्तै, योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) असोजको ९ रुपैयाँ ७६ पैसाबाट घटेर कात्तिकमा ९ रुपैयाँ ४२ पैसा कायम भएको छ ।
यस अवधिमा योजनाको कुल आम्दानी २९.४५ प्रतिशतले घटेर १२ करोड ४ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ । तर सञ्चालन तथा व्यवस्थापकीय खर्च भने १५.७६ प्रतिशतले बढेर ११ करोड ५ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
वित्तीय विवरणअनुसार कोषले कुल सम्पत्तिको करिब २२ प्रतिशत अर्थात् ४१ करोड ७६ लाख रुपैयाँ बैंक मौज्दातमा राखेको छ । साथै उत्पादन तथा प्रशोधन, जलविद्युत् र लघुवित्त क्षेत्रमा क्रमशः २३ करोड १ लाख, १८ करोड ८१ लाख र १६ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ ।






















