images
images
  • ट्रम्प परिवार समर्थित क्रिप्टो टोकनको मूल्यमा भारी गिरावट

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवारको समर्थन रहेको वर्ल्ड लिबर्टी फाइनान्सियलको क्रिप्टोकरेन्सी टोकनको मूल्य एकै रातमा करिब ५० प्रतिशतले घटेको छ। राजनीतिक सम्बन्ध भएका क्रिप्टो सम्पत्तिमा देखिएको उच्च उतारचढावलाई यस घटनाले पुनः उजागर गरेको छ।

    सन् २०२५ को सेप्टेम्बरदेखि कारोबार सुरु भएको उक्त टोकनको मूल्य हालसम्म ९० प्रतिशतभन्दा बढीले घटिसकेको छ। शनिबार बिहानसम्म यसको मूल्य प्रतिटोकन करिब ०.०१८ अमेरिकी डलरमा झरेको थियो। एक दिनअघि शुक्रबार यसको मूल्य ०.०३९ अमेरिकी डलर रहेको थियो।

    शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भएको मूल्य गिरावट ट्रम्पसँग सम्बन्धित क्रिप्टो सम्पत्तिमा देखिएका तीव्र एकदिने गिरावटमध्ये एक हो। पछिल्लो समय ट्रम्प परिवारको डिजिटल सम्पत्तिमा बढ्दो संलग्नतामाथि निगरानी र चासो बढिरहेका बेला यो गिरावट आएको हो।

    क्रिप्टो बजारमा एक्सचेन्जका निर्णय, टोकनको आपूर्ति खुला हुने प्रक्रिया तथा बजारमा तरलताको अवस्था जस्ता कारणले मूल्यमा ठूलो उतारचढाव आउन सक्ने जोखिम यस घटनाले देखाएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारको समर्थन रहेको विकेन्द्रीकृत वित्तीय परियोजना वर्ल्ड लिबर्टीले सामाजिक सञ्जालमार्फत क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले उक्त टोकनसँग सम्बन्धित खुला पर्पेचुअल फ्युचर्स सम्झौताहरू स्वतः सेटल गरी बन्द गरेको जनाएको छ।

    यस विषयमा बाइनान्सले पनि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै डब्ल्यूएलएफआई पर्पेचुअल फ्युचर्स कारोबारसम्बन्धी विवरणबारे आफू जानकार रहेको र बजार गतिविधि तथा कारोबार कार्यान्वयनसम्बन्धी तथ्याङ्कको समीक्षा भइरहेको जनाएको छ।

    यस विषयमा वर्ल्ड लिबर्टी र बाइनान्सले शनिबारसम्म तत्काल कुनै थप प्रतिक्रिया दिएका छैनन्।

    यसअघि जुन महिनामा रोयटर्सले गरेको अनुसन्धानात्मक रिपोर्टअनुसार ट्रम्पसँग सम्बन्धित क्रिप्टो व्यवसायबाट उनको परिवारले अर्बौं अमेरिकी डलर आम्दानी गरेको थियो। तर ती व्यवसायमा लगानी गरेका धेरै बाह्य लगानीकर्ताले भने ठूलो आर्थिक नोक्सानी व्यहोरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images