काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाले नयाँ मोड लिएको छ। पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुद्दासँग सम्बन्धित सम्पूर्ण सक्कल मिसिल पेश गर्न आदेश दिएको छ।
मंगलबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले अनुसन्धान र थुनासम्बन्धी सबै मूल कागजात अदालतमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
पौडेललाई असार ८ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। उनीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी त्यसको शुद्धीकरणमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ।
यसअघि विशेष अदालत, काठमाडौंले सोमबार अनुसन्धानका लागि पौडेललाई न्यायिक हिरासतमा राख्न अनुमति दिँदै असार १७ गतेसम्म थुनामा राख्ने आदेश दिएको थियो।
अब सर्वोच्च अदालतले सक्कल मिसिल अध्ययन गरेपछि बन्दीप्रत्यक्षीकरण रिटमाथि थप सुनुवाइ गर्नेछ।























