काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल पार्टी एकता सम्भव नभएको स्पष्ट गरेका छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा चार प्रमुख वाम नेताहरू एउटै मञ्चमा देखिएपछि एमाले–नेकपाबीच एकताको चर्चा चुलिएको थियो ।
तर, सोमबार नेकपाको केन्द्रीय समिति बैठकमा प्रचण्डले महाधिवेशनअघि पार्टी एकता सम्भव नरहेको बताउँदै अहिले प्राथमिकता पार्टी सुदृढीकरण र वाम शक्तिबीच सहकार्य भएको स्पष्ट पारे ।
त्यसको भोलिपल्ट मंगलबार एमाले अध्यक्ष ओलीले पनि पार्टी एकताको सम्भावना नरहेको भन्दै लोकतन्त्र र राष्ट्रिय हितका पक्षमा कार्यगत सहकार्य आवश्यक रहेको बताए ।
उनले समूहगत वा संस्थागत एकता नगर्ने, तर पार्टीमा प्रवेश गर्न चाहने व्यक्ति वा समूहलाई भने स्वागत गर्ने नीति दोहोर्याए ।
यससँगै एमाले र नेकपाबीच तत्काल पार्टी एकताको चर्चामा दुवै शीर्ष नेताले पूर्णविराम लगाएका छन् ।























