images
images
  • सरकारकै हस्तक्षेपका कारण एन्फा प्रतिबन्धमा पर्यो: केपी शर्मा ओली

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अनुचित हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धमा परेको आरोप लगाएका छन् ।

    मंगलबार नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले विश्वकप फुटबल चलिरहेका बेला नेपाल भने प्रतिबन्धित हुनु दुःखद भएको बताए । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको प्रतिबन्धप्रति चासो व्यक्त गर्दै उनले खेल क्षेत्रलाई यो अवस्थाबाट मुक्त गराउन जरैदेखि सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।

    “यस्तो स्थितिलाई हामीले परिवर्तन गर्नैपर्छ, टुप्पामा मात्र परिवर्तन गर्न खोजेर हुँदैन,” अध्यक्ष ओलीले सम्बोधनका क्रममा भने, “यसलाई अलिक जरैदेखि र फेदैदेखि परिवर्तन गर्नुपर्छ, अनि मात्र वास्तविक सुधार सम्भव छ ।”

    अध्यक्ष ओलीले नेपाली खेलाडीहरूमा खेल कौशलका साथै देशप्रतिको जिम्मेवारी र बलियो राष्ट्रिय भावना हुनुपर्नेमा जोड दिए । केवल खेल खेल्ने मात्र नभई देशको अवस्था र प्रतिष्ठा बुझ्ने सचेत खेलाडी उत्पादन हुनुपर्ने उनको भनाइ थियो ।

    “खेलाडीहरूमा देशभक्ति हुनैपर्छ, देशभक्ति नभएको खेलाडी वास्तविक खेलाडी हुन सक्दैन,” उनले थपे । खेलकुद क्षेत्रमा बेथिति बढेको भन्दै उनले उत्कृष्ट प्रदर्शनमार्फत अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने वातावरण सिर्जना गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे । साथै, उनले नेपाल खेलकुद महासंघलाई देशभक्ति र राष्ट्रिय गरिमा बुझ्ने खेलाडीहरू उत्पादन गर्ने कार्यमा सफलता मिलोस् भनी शुभकामना समेत दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images