images
images
  • वनस्थलीमा ‘प्रहरी’ भन्दै साढे १० लाख लुट्ने आरोपमा चार पक्राउ

    काठमाडौं-  काठमाडौंको वनस्थलीमा आफूहरू प्रहरी भएको भन्दै एक व्यक्तिलाई हतकडी लगाएर साढे १० लाख रुपैयाँभन्दा बढी रकम लुटपाट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले चार जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिदका लागि काठमाडौं आएका थिए। उनी आफ्ना चिनजानका शेरबहादुर मोक्तानको कोठामा बसिरहेका बेला गत असार ९ गते साँझ करिब ७ बजे ५–६ जनाको समूहले आफूहरू प्रहरी भएको परिचय दिँदै नियन्त्रणमा लिएको थियो ।

    उक्त समूहले धनबहादुरसँग रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, एक थान मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

    घटनाको अनुसन्धानका क्रममा प्रहरीले असार १४ गते काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई हाल धापासी बस्ने ४३ वर्षीय रामशरण दमाई, काठमाडौंको टोखा नगरपालिका–१ का ३८ वर्षीय सविन खवास, पर्साको ठोरी गाउँपालिका–४ घर भई हाल गौरीघाट बस्ने ४३ वर्षीया लक्ष्मी गोले तथा पीडितका चिनजानका साथी शेरबहादुर मोक्तान रहेका छन् ।

    सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा डेरा गरी बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तान पनि लुटपाट योजनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

    प्रहरीले पक्राउ परेकाहरूको साथबाट लुटिएको रकममध्ये एक हजार दरका नोटमा २ लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images