images
images
  • रास्वपाले कानुनविपरीत दियो बालबालिकालाई पार्टी सदस्यता, निर्वाचन अयोग र न्यायालय चुपचाप

    काठमाडौं– सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्ष मुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टी सदस्य बनाएपछि चौतर्फी आलोचना भएको छ ।

    रास्वपाको चितवनमा सम्पन्न प्रथम महाधिवेशनको क्रममा १८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको खुलासा भएपछि विभिन्न पक्षले प्रचलित कानुन र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन भएको भन्दै विभिन्न पक्षले विरोध गरेका हुन् ।

    नेपालको संविधान, बालबालिकासम्बन्धी मौजुदा ऐन र राजनीतिक दलसम्बन्धी ऐनले १८ वर्ष मुनिका व्यक्तिलाई पार्टी सदस्यता दिन निषेध गरेको भएपनि झण्डै दुईतिहाइ बहुमत पाएर सरकार चलाइरहेको रास्वपाको कदम कानुनविपरीत राजनीतिककर्मी, अधिकारकर्मी र अन्य सरोकारवालाहरूको टिप्पणी छ ।

    रास्वपाले सदस्यतासम्बन्धी त्रुटि जन्ममिति लेखाइको कारण भएको दाबी गरे पनि यस विषयमा छानविन र आवश्यक कारबाहीको माग उठ्न थालेको छ ।

    संसद्मा पनि विपक्षी दलहरूले सत्तारूढ दल रास्वपाको कदमको चर्को आलोचना गरेका छन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रास्वपाले १८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव महाधिवेशनबाट पारित गरेको भन्दै आपत्ति जनाएको छ ।

    सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदद्वय चन्द्रबहादुर केसी र जगत तिमिल्सिनाले रास्वपाको कदमप्रति आपत्ति जनाएका हुन् ।

    सांसदद्वयले प्रचलित कानुनविपरीत रास्वपाले १८ वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गरेको भन्दै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

    सांसद तिमिल्सिनाले भने, ‘ऐनअनुसार १८ वर्ष नपुगेका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन । यसो गरेमा ८० हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था छ । के रास्वपा संविधानभन्दा माथि छ ? उसले कानुन पालना नगर्दा पनि हुने हो ?’

    बालबालिकाको मतको भर्‍याङ चढेर चुनिएका रास्वपाका विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यहरूको वैधानिकतामाथि नै सांसद तिमिल्सिनाले प्रश्न उठाएका छन् ।

    एकातर्फ विद्यार्थीहरूले राजनीति गर्न हुँदैन भन्दै स्ववियु र विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गर्ने तर अर्कोतर्फ आफ्नै दलमा कलिला विद्यार्थीलाई झोला बोकाउने प्रवृत्ति सरकारमा सहभागी दलले नै देखाएको भन्दै अर्का सांसद केसीले भने, ‘विद्यार्थीलाई राजनीतिबाट टाढा राख्ने कुरा गर्ने सरकारले आफ्नै दलमा बालबालिकालाई सदस्यताको लाममा उभ्याउन मिल्छ ?’

    प्रधानमन्त्री कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तो भएको आरोप

    विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भएको आरोप लगाएको छ ।

    राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै नेकपाका सांसद नरबहादुर विष्टले प्रधानमन्त्री कार्यालयको कार्यशैलीलाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै भने, ‘प्रधानमन्त्री कार्यालय एउटा जर्मन हिटलरको ग्यास च्याम्बर जस्तै बनेर त्यहाँ संवैधानिक अंगका प्रमुखहरूलाई बोलाएर गाली गर्ने, मानव अधिकारवादी आयोगलाई धम्क्याउने र थर्काउने काम भइरहेको छ ।’

    सांसद विष्टले प्रशासनिक फजुल खर्च र मन्त्रीका सल्लाहकारहरूको नियुक्तिप्रति पनि प्रश्न उठाएका छन् ।

    कूटनीतिक क्षेत्रमा पनि सरकार असफल भएको दाबी गर्दै उनले पासपोर्ट प्रकरणमा जर्मनीले नेपालको दूतावासलाई बोलाएर कडा प्रतिक्रिया दिएको सन्दर्भ पनि उल्लेख गरे ।

    उनले विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिमा बार्गेनिङ भइरहेको आरोप लगाउँदै भने, ‘आज विश्वविद्यालयका भिसीका लागि अन्तर्वार्ता लिँदै छन् । कसले कति बुझाउँछ भनेर प्रधानमन्त्री र शिक्षामन्त्रीका अलगअलग मान्छेहरू बार्गेनिङ गरिरहेका छन् ।’

    प्रधानमन्त्रीका सल्लाहकारको अधिकारमाथि प्रश्न

    विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक अंगका प्रमुख र न्यायाधीशहरूलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो रु भन्दै प्रश्न गरेको छ ।

    राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद सोमनाथ पोर्तेलले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक अंगका प्रमुख, न्यायाधीशहरूलाई बोलाएर निर्देशन दिने र ज्यान मार्ने धम्की दिने गरेको प्रति गम्भीर ध्यानाकर्षण गराउँदै भने, ‘प्रधानमन्त्रीका सल्लाहकारहरूलाई यो अधिकार कसले दियो ? उनीहरूलाई न संसद्ले चिन्छ न संविधानले । यस्ता असंवैधानिक कार्यहरू तत्काल रोकिनुपर्छ ।’

    संघीयता हटाउने प्रयास नगर्न चेतावनी

    जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीयता कसैको दयामायाले नभई संघर्ष र त्यागले आएको बताउँदै हटाउने प्रयास नगर्न चेतावनी दिएको छ ।

    सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा जसपा नेपालका सांसद मोहम्मद खालिदले संघीयता कसैको दया(मायाले नभई नेपाली जनताको लामो संघर्ष, शहादत र त्यागबाट प्राप्त स्पष्ट पार्दै भने, ‘संघीयता असफल भयो, खर्चिलो भयो भन्दै भ्रम फैलाएर यसलाई कमजोर पार्ने प्रयास भइरहेको छ । संघीयता हात्ती पाल्नु जस्तो होइन, यो त अधिकार तल्लो तहसम्म पुर्‍याउने माध्यम हो । निर्वाचनअघि प्रधानमन्त्री र विभिन्न नेताहरूले मधेस पुगेर गरेका प्रतिबद्धताहरू स्मरण गरून् ।’

    नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले पनि संविधान कार्यान्वयन र संघीयता मर्मअनुसार अधिकार विकेन्द्रीकरणको विषयमा सरकारसँग जवाफ माग गरेका छन् ।

    भूमिहीन र सुकुम्बासीलाई अपराधी जस्तो व्यवहार गरेको टिप्पणी

    नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले भूमिहीन र सुकुम्बासीलाई सरकारले अपराधी जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।

    सोमबार राष्ट्रियसभाको बैठकमा सांसद गुरुङले किसान र सुकुम्बासीका समस्याप्रति सरकारले संवेदनशीलता नदेखाएको टिप्पणी गरेका हुन् ।

    संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने र आवासको हक सुनिश्चित गरेको स्मरण गराउँदै गुरुङले भने, ‘डोजर चल्नुअघि समाधान खोजिँदैन, संवाद गरिँदैन र पुनःस्थापनाको व्यवस्था पनि गरिँदैन । घर भत्किएपछि मात्र पीडा देखिन्छ, यो अवस्था अत्यन्तै दुःखद छ । बालबालिकाहरू नियमित विद्यालय जान पाएका छैनन्, उनीहरूको किताब, कापी र पढ्ने वातावरण नष्ट भएको छ । के यही हो सामाजिक न्याय ? के गरिबको घर भत्काएर मात्र विकास सम्भव हुन्छ ?’

    प्रतिक्रिया दिनुहोस्
    images
    images