images
images
  • एमाले–नेकपा एकता गर्न प्रचण्ड–विद्या सहमत, ओली लगायतका धेरै नेता असहमत

    काठमाडौं– नेपालका कम्युनिष्ट दलहरूबीच फेरि एकपटक एकता र कार्यगत सहकार्यको बहस चुलिएको छ ।

    विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सहकार्यको सम्भावनाबारे शीर्ष नेताहरू सक्रिय भइरहेका बेला एमालेभित्र भने यस विषयलाई लिएर गम्भीर मतभेद देखिएको छ ।

    पार्टीको एउटा ठूलो पंक्तिले नेतृत्वले अघि सारेको पुनर्मिलनको बहसभन्दा पहिले संगठनको आन्तरिक पुनर्गठन, नेतृत्व परिवर्तन र वैचारिक समीक्षा हुनुपर्ने अडान लिएको छ ।

    एमालेभित्र लामो समयदेखि पार्टीलाई नीति, विधि र नेतृत्वका आधारमा पुनर्गठन गर्नुपर्ने माग उठ्दै आएको छ ।

    तर अध्यक्ष केपी शर्मा ओली पक्ष भने संसद् र आगामी निर्वाचनलाई केन्द्रमा राखेर वाम शक्तिहरूसँग पुनः सहकार्य र एकताको पहलमा जुटेपछि पार्टीभित्रै असन्तुष्टि बढेको हो ।

    पुनर्गठनको पक्षमा रहेका नेताहरूको तर्क छ, विगतका विभाजन, असफलता र अविश्वासको समीक्षा नगरी हतारमा गरिने एकताले कम्युनिष्ट आन्दोलनलाई थप कमजोर बनाउनेछ ।

    महासचिव पोखरेलको संकेत

    एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बढ्दो राजनीतिक निकटतालाई लक्षित गर्दै अप्रत्यक्ष असन्तुष्टि जनाएका छन् ।

    कार्ल मार्क्सको चर्चित भनाइ उद्धृत गर्दै उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् ‘इतिहासमा उस्तै घटनाहरू पहिलो पटक नाटकका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा दोहोरिन्छन् । समय र परिस्थिति बदलिसकेपछि विगतका घटना, नारा वा प्रवृत्तिलाई हुबहु दोहोर्‍याउनु उचित हुँदैन।’

    उनको अभिव्यक्तिलाई एमाले संस्थापनभित्रै वाम सहकार्यबारे समान धारणा नरहेको संकेतका रूपमा हेरिएको छ ।

    एउटै मञ्चमा चार पूर्वप्रधानमन्त्री

    आइतबार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिले पनि राजनीतिक वृत्तमा नयाँ बहस जन्मायो ।

    कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिएका थिए ।

    कार्यक्रममा प्रचण्डले संसद्‌देखि आगामी निर्वाचनसम्म कार्यगत सहकार्यको औपचारिक प्रस्ताव अघि सारे ।

    कार्यक्रमपछि सञ्चारकर्मीहरूले पूर्वराष्ट्रपति भण्डारीसँग तपाईंको नेतृत्वमा कम्युनिष्ट एकता हुन लागेको हो ? भन्ने प्रश्न गर्दा उनले त्यसबारे पछि छलफल गर्नुपर्छू भन्दै छोटो प्रतिक्रिया दिए ।

    साथै, एउटा निर्वाचनको परिणामका आधारमा सम्पूर्ण कम्युनिष्ट आन्दोलनको मूल्याङ्कन गर्न नहुने धारणा पनि व्यक्त गरे ।

    पुनर्मिलन होइन, नेतृत्वको संकट ढाक्ने प्रयास

    पछिल्लो समय ओली र प्रचण्डबीच कार्यगत सहकार्यका लागि संवाद बढेको दाबी दुवै पक्षका नेताहरूले गर्दै आएका छन् ।

    तर एमालेभित्र यसलाई नेतृत्वको संकट व्यवस्थापन गर्ने रणनीतिका रूपमा व्याख्या गर्नेहरूको संख्या बढ्दो छ ।

    एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल एक्समार्फत नेतृत्वमाथि कडा टिप्पणी गर्दै लेखे, ‘पटक–पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग हो यो । भयंकर खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर तर सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न प्रयोग गरिएको भुत्ते हतियार हो ।’

    उनले यदि नेतृत्व साँच्चिकै आत्मसमीक्षा गर्न तयार हो भने पहिले विगतमा नेकपा फुटाउनु गल्ती भएको स्वीकार गर्नुपर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न इच्छुक हुनुपर्ने चुनौतीसमेत दिए ।

    पुनर्गठन पक्षमा बहुमत ?

    एमालेले हालै सातै प्रदेशमा सञ्चालन गरेको संगठनात्मक छलफलमा अधिकांश कार्यकर्ताले पार्टीको पुनर्गठन र नेतृत्व परिवर्तनको पक्षमा सुझाव दिएको दाबी गरिएको छ ।

    पार्टी स्रोतका अनुसार छलफलमा सहभागी करिब ६० प्रतिशतभन्दा बढी नेता–कार्यकर्ताले पार्टीलाई आमूल रूपमा पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए ।

    त्यस्तै, एमालेका १९ पदाधिकारीमध्ये करिब १० जना पुनर्गठनको एजेन्डाप्रति सकारात्मक रहेको चर्चा पार्टीभित्र भइरहेको छ ।

    अध्यक्ष ओलीको नेतृत्वमा अब पार्टीलाई अघि बढाउन कठिन हुने निष्कर्षमा पुगेका नेताहरूलाई दबाबमा पार्नकै लागि वाम एकताको बहस अघि सारिएको आरोप पनि संस्थापन इतर पक्षले लगाउँदै आएको छ ।

    हाल अध्यक्ष ओलीको नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत सक्रिय रूपमा देखिएका छन् ।

    पहिले घर मिलाऊ, त्यसपछि बाहिर जाऊ

    एमाले नेता कर्ण थापाले अहिले उठाइएको पुनर्मिलनको बहसले पार्टीभित्रको पुनर्गठनको मूल एजेन्डालाई ओझेलमा पार्न खोजेको आरोप लगाए ।

    उनका अनुसार पहिलो प्राथमिकता संगठनात्मक पुनर्गठन, त्यसपछि नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण र त्यसपछि मात्रै अन्य कम्युनिष्ट दलसँग कार्यगत सहकार्यको विषयमा सोच्नुपर्ने हो ।

    यस्तै, बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले अहिलेको आवश्यकता पुनर्मिलन होइन, ूपुनर्गठन र पुनर्जागरणू भएको बताए ।

    उनले नेतृत्वले आन्दोलनको आवश्यकताभन्दा आफ्नै राजनीतिक भविष्य सुरक्षित गर्ने चिन्ताका कारण एकताको बहसलाई अघि सारेको टिप्पणी गरे ।

    वैचारिक बहसमा झलनाथ

    यसबीच नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नयाँ पार्टी गठनको तयारीमा रहेको भन्ने चर्चाको खण्डन गरेका छन् ।

    वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवादू पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले भने, ‘केही मान्छेहरूले झलनाथले अर्को पार्टी खोल्न थालेछ भनेर कुप्रचार गरेछन् । म जीवनभर गुटबन्दीको विरोध गर्दै आएको मान्छे हुँ । पार्टी फुटाउने कुनै योजना छैन।’

    उनले अहिलेको आवश्यकता वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गरेको बताउँदै आन्दोलनभित्र देखिएका विकृति वैचारिक बहसबाटै समाधान गर्नुपर्ने धारणा राखे ।

    जनार्दन शर्माको निष्कर्ष : आन्दोलन विघटित भइसकेको छ

    प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेपाली कम्युनिष्ट आन्दोलन अहिले वैचारिक, राजनीतिक र सांगठनिक रूपमा गम्भीर संकटमा पुगेको टिप्पणी गरे ।

    उनले भने, ‘नेपाली कम्युनिष्ट आन्दोलन वैचारिक रूपमा अल्मलियो, राजनीतिक रूपमा गञ्जागोलमा गयो र सांगठनिक रूपमा नोकरशाहीतन्त्रमा फेरियो । अहिले कम्युनिष्ट आन्दोलनभन्दा त्यसका नेता र समर्थक मात्र जीवित छन् ।’

    विगतमा करिब ७० प्रतिशत जनसमर्थन रहेको वाम आन्दोलन अहिले कमजोर बन्दै गएको भन्दै उनले व्यापक पुनर्गठनको आवश्यकता औँल्याए ।

    राष्ट्रियतादेखि सुशासनसम्म भीम रावल

    सोही कार्यक्रममा नेकपाका नेता डा.भीम रावलले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै राष्ट्रियता र जनजीविकालाई प्राथमिकतामा राख्न आग्रह गरे ।

    उनले सरकारी जग्गा अतिक्रमण गर्नेलाई कानुनी कारबाही हुनुपर्ने बताउँदै वास्तविक श्रमजीवी र विपन्न नागरिकको संरक्षण राज्यको पहिलो दायित्व भएको उल्लेख गरे ।

    रावलले संविधानमा असमान सन्धि–सम्झौताहरूको पुनरावलोकन गर्ने व्यवस्था भए पनि व्यवहारमा माथिल्लो कर्णालीजस्ता परियोजनामा असमान सम्झौता भइरहेका भन्दै असन्तुष्टि जनाए ।

    नेता बिग्रिए भन्दै सिद्धान्त बिग्रिँदैन

    एमाले नेता युवराज ज्ञवालीले भने केही नेताहरूको भ्रष्टाचार वा व्यक्तिगत कमजोरीका आधारमा सम्पूर्ण कम्युनिष्ट आन्दोलन र मार्क्सवादलाई असफल भन्न नमिल्ने तर्क गरे ।

    उनले भने ‘नेता बिग्रिए भने त्यो सिद्धान्तको दोष होइन, व्यक्तिको दोष हो । नेताहरू भ्रष्ट भए भन्दै मार्क्सवाद नै असफल भयो भन्ने पुँजीवादी प्रचारमा लाग्नु हुँदैन ।’

    ज्ञवालीले जनताको बहुदलीय जनवाद (जबज), वैज्ञानिक समाजवाद र कम्युनिष्ट आन्दोलन आज पनि उत्तिकै सान्दर्भिक रहेको दाबी गरे ।

    एकताको बहसभन्दा पुनर्गठनको दबाब

    कम्युनिष्ट दलहरूबीच सहकार्य र एकताको बहस फेरि सतहमा आए पनि एमालेभित्रको पछिल्लो बहसले एउटा फरक चित्र देखाएको छ ।

    पार्टीको उल्लेख्य हिस्सा अहिले बाह्य एकताभन्दा आन्तरिक सुधार, नेतृत्व पुनर्संरचना र वैचारिक पुनर्जागरणलाई प्राथमिकतामा राख्नुपर्ने पक्षमा देखिएको छ ।

    यसले आगामी दिनमा एमालेभित्र नेतृत्व, संगठन र वाम एकताको बहस अझ तीव्र हुने संकेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images