images
images
  • इरानद्वारा अमेरिकी वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनमा केन्द्रित

    काठमाडौं– इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने पुष्टि गर्दै इरानी प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने जनाइएको छ ।

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानले नयाँ राजनीतिक वार्ता सुरु गर्नुको सट्टा विद्यमान एमओयूको प्राविधिक कार्यान्वयनलाई कडाइका साथ प्राथमिकता दिएको स्पष्ट पारेको तसनीम समाचार एजेन्सीले जनाएको छ ।

    इरान सम्झौता कार्यन्वयनमा प्रतिवद्ध रहको विषयमा जोड दिदै बाघाईले इरानको एक विशेषज्ञ प्रतिनिधिमण्डल यस हप्ता कतारको दोहामा पठाइने घोषणा गरेका छन् ।

    सम्झौता अनुरुप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै, बाघाईले इरानले सम्झौताको अनुच्छेद –११ मा ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताएका छन् ।

    जसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ ।

    अमेरिकी प्रतिनिधिहरूद्वारा कतारको भ्रमण इरानी प्रतिनिधिमण्डलको कार्यभारसँग पूर्णरूपमा असम्बन्धित भएको भन्दै बाघाईले यो समयमा थप कूटनीतिक कार्यक्रमहरू गर्नेबारे भएको अनुमानलाई अस्वीकार गरेका हुन् ।

    तास्निम समाचार एजेन्सीका अनुसार अन्तिम सम्झौतामा वार्ताको सम्भावित सक्रियताको बारेमा सोधिएको प्रश्नमा बाघाईले प्रक्रिया अझै सुरु नभएको उल्लेख गर्दै अहिलेसम्म अन्तिम सम्झौताका लागि वार्ताको चरणमा प्रवेश नगरेको बताएका छन् ।

    उनले सहमति अन्तर्गत अन्तिम सम्झौताका लागि औपचारिक वार्ता गर्दा विशेष गरी धारा १,४,५,१० र ११ को सफल पहल र दिगो कार्यान्वयन आवाश्यक रहेको कुरामा जोड दिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कतारको दोहामा मङ्गलबार इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरे पछि अमेरिकी विशेष दूत स्टिभ विटकोफ कतारको दोहा जाँदै गर्दा उहाँको यस्तो टिप्पणी आएको हो ।

    दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले विटकोफ हाल कतारको राजधानीको यात्रामा रहेको बताएको छ ।

    यसैबीच, इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले जवाफ दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्तरूप दिने बताएका छन् ।

    सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पेजेस्कियनले आपसी समझदारी दुईतर्फी मार्ग दर्शन भएको बताउँदै यदि अमेरिकी पक्षले सम्झौताको पालना गरे पछि आफुहरू पनि सम्झौता प्रति प्रतिबद्ध रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images