काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले तीन महिना पूरा गरेको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दशकौँदेखि सत्तामा रहँदै आएका परम्परागत दलहरूलाई विस्थापित गर्दै रास्वपा सत्तामा पुगेको थियो ।
भदौ २३ र २४ गते भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै भएको जेनजी आन्दोलन, त्यसपछि विकसित राजनीतिक घटनाक्रम, संसद् विघटन र नयाँ निर्वाचनपछि स्थापित भएको यो सरकारले आफूलाई पुरानो राजनीतिक संस्कृतिको विकल्पका रूपमा प्रस्तुत गरेको थियो ।
चुनावअघि सार्वजनिक गरिएको घोषणापत्र र सरकार गठनकै दिन ल्याइएको १०० बुँदे शासकीय सुधार कार्यसूची मार्फत सुशासन, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक हस्तक्षेपमुक्त प्रशासन निर्माण गर्ने महत्वाकांक्षी प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सरकारको तीन महिनाको कार्यकाललाई लिएर अहिले मिश्रित प्रतिक्रिया देखिएका छन् ।
सरकार पक्षले यस अवधिलाई सुधारको बलियो सुरुआतका रूपमा चित्रण गरिरहेको छ भने विपक्षी दल, कानुनविद् र राजनीतिक विश्लेषकहरूले उपलब्धिभन्दा प्रचार बढी भएको टिप्पणी गरेका छन्।
सुशासनको प्रतिबद्धता, कार्यान्वयनमा चुनौती
निर्वाचनताका रास्वपाले सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै सदाचारी राज्य निर्माण, सरकारी सेवा पूर्णरूपमा अनलाइनमार्फत उपलब्ध गराउने, सार्वजनिक निकायमा दलीयकरण अन्त्य गर्ने तथा २०४६ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको थियो ।
यिनै एजेन्डाका आधारमा मतदाताले पार्टीलाई १८२ सिटको स्पष्ट बहुमत दिएका थिए ।
सरकार गठनसँगै सार्वजनिक गरिएको १०० बुँदे कार्यसूचीमार्फत प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार, भ्रष्टाचार नियन्त्रण, राजनीतिक नियुक्तिको अन्त्य, शिक्षा सुधार र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य तय गरिएको थियो ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली सरकारका सुरुआती तीन महिना परम्परागत राजनीतिक अभ्यासभन्दा फरक भएको दाबी गर्छन् ।
उनका अनुसार सरकारले छोटो अवधिमै प्रशासनिक सुधार र सुशासनतर्फ केही साहसिक निर्णय गरेको छ ।
तर विपक्षी दलहरूको मूल्याङ्कन भने फरक छ ।
नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङका अनुसार सरकार संसद् र जनताप्रति अपेक्षित रूपमा उत्तरदायी बन्न सकेको छैन ।
उनले भने, ‘तीन महिनासम्म सरकारले संसद् र नागरिकप्रति जवाफदेहिता देखाएन । लोकप्रिय नाराले मात्र जनताको समस्या समाधान हुँदैन । संविधान, लोकतन्त्र र संसदीय मर्यादाप्रति सरकार जिम्मेवार देखिन सकेन ।’
उपलब्धिभन्दा विवाद बढी
तीन महिनामा सरकारले प्रशासनिक सुधार, डिजिटल शासन, सार्वजनिक सेवा सरलीकरण तथा भ्रष्टाचार नियन्त्रणमा केही नयाँ पहल गरेको छ ।
उच्च राजनीतिक पदाधिकारी र सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णयले सकारात्मक सन्देश दिएको मानिएको छ ।
तर महत्वाकांक्षी योजनाहरू कार्यान्वयनमा लैजाँदा अनुभवको कमी, कानुनी जटिलता र नेतृत्वको कार्यशैलीकै कारण सरकार बारम्बार विवादमा तानिएको देखिन्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार सरकारसँग प्रतिनिधिसभामा झन्डै दुईतिहाइ समर्थन हुँदाहुँदै पनि त्यसअनुसार परिणाम दिन सकेको छैन ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन्, ‘संविधान संशोधनबाहेक सरकारसँग अधिकांश काम गर्ने पर्याप्त अधिकार छ । तर जनतासामु गरिएको प्रतिबद्धताअनुसार सरकार अघि बढेको देखिँदैन । कतिपय राष्ट्रहितसँग सम्बन्धित विषयलाई समेत सरकारले आवश्यक गम्भीरताका साथ लिन सकेको छैन ।’
उनले प्रधानमन्त्री स्वयं कूटनीतिक मर्यादामाथि प्रश्न उठ्ने गतिविधिमा संलग्न भएको आरोपसमेत लगाए ।
आफ्नै मन्त्रीहरू विवादमा
ूजान्नेलाई छान्नेू नारासहित सरकारमा पुगेका केही मन्त्रीहरू सुरुदेखिनै विवादमुक्त रहन सकेनन् ।
सरकार गठनको पहिलो महिनामै श्रममन्त्री दीपक साहले स्वास्थ्य बिमा बोर्डमा कार्यरत आफ्नी श्रीमतीसँग जोडिएको विवादपछि पद गुमाए ।
त्यसपछि बिचौलियासँगको सम्बन्ध र सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिए ।
तर करिब डेढ महिनापछि उनी पुनः गृहमन्त्री बने ।
उनीमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरी पुनर्नियुक्ति गरिएपछि सरकारको सुशासन प्रतिबद्धतामाथि थप प्रश्न उठ्यो ।
भ्रष्टाचारविरुद्ध सन्देश, परिणाम अझै अस्पष्ट
सरकारले केही चर्चित भ्रष्टाचार फाइलहरू पुनः अध्ययन गर्ने, प्रशासनिक निगरानी कडा बनाउने र अनुसन्धानलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
तर ठूला भ्रष्टाचार मुद्दामा अहिलेसम्म कुनै निर्णायक कानुनी निष्कर्ष ननिस्किएको विश्लेषकहरूको भनाइ छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार सरकारले आशा जगाउने केही प्रयास गरेको भए पनि त्यसलाई निष्कर्षमा पुर्याउन सकेको छैन ।
उनले भने, ‘सरकारले काम गर्न खोजेको देखिन्छ । तर कतिपय विषयमा कानुनी सीमाभन्दा बाहिर जान खोजेजस्तो पनि देखिएको छ । प्रधानमन्त्री र मन्त्रीहरूको अभिव्यक्तिले समेत नागरिकमा संशय पैदा गरेको छ ।’
अर्थतन्त्र र रोजगारीमा अपेक्षित उपलब्धि छैन
सरकारले राष्ट्रिय गौरवका आयोजनाको गति बढाउने, लगानी प्रवर्द्धन गर्ने, उद्योग सञ्चालन सहज बनाउने तथा रोजगारी सिर्जना गर्ने घोषणा गरेको थियो ।
तर अधिकांश आयोजना पुरानै संरचनागत समस्या, बजेट अभाव र ठेक्का व्यवस्थापनकै कारण प्रभावित छन् ।
निजी क्षेत्रको मनोबल बढाउने, कर प्रणाली सुधार गर्ने तथा राजस्व चुहावट नियन्त्रण गर्ने लक्ष्य पनि अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।
अर्थशास्त्रीहरूका अनुसार बैंकिङ क्षेत्रमा शंकास्पद कारोबार पहिचान गर्ने ुरेड फ्ल्यागु प्रणाली तथा ठूला व्यवसायमा अनिवार्य ई(बिलिङ कार्यान्वयनसमेत अझै प्रभावकारी बन्न सकेको छैन ।
इजरायल–इरान तनावका कारण सम्भावित रेमिट्यान्स, वैदेशिक रोजगारी, इन्धन आपूर्ति र महँगीमा पर्ने प्रभाव व्यवस्थापनका लागि सरकारले स्पष्ट रणनीति सार्वजनिक गर्न नसकेको आलोचना पनि भइरहेको छ ।
शिक्षा क्षेत्रमा केही प्रगति
सरकारले सार्वजनिक गरेको कार्यसूचीअनुसार राष्ट्रिय परीक्षा बोर्डका नतिजा निर्धारित शैक्षिक क्यालेन्डरभित्रै सार्वजनिक हुन थालेका छन् ।
विद्यालय तथा विश्वविद्यालयबाट राजनीतिक दलनिकट विद्यार्थी संगठन हटाउने निर्णय पनि कार्यान्वयनमा लगिएको छ। यद्यपि यसबारे कानुनी विवाद जारी छ ।
सर्वोच्च अदालतले वैशाख २८ गते विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि सरकारको निर्णय थप कानुनी परीक्षणमा परेको छ ।
त्यस्तै निजामती सेवा, शिक्षण र प्राध्यापन क्षेत्रमा दलगत ट्रेड युनियन अन्त्य गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ ।
डिजिटल सेवा विस्तार, तर लक्ष्य अधुरै
सरकारले राहदानी र सवारीचालक अनुमतिपत्र घरमै पुर्याउने सरकारी कुरियर सेवाको परीक्षण सुरु गरेको छ ।
यद्यपि नागरिक एपमार्फत पूर्ण रूपमा फेसलेस गभर्नेन्स लागू गर्ने तथा अधिकांश सरकारी सेवा शतप्रतिशत अनलाइन बनाउने लक्ष्य अझै पूरा भएको छैन ।
त्यसैगरी महिलाका लागि सातै प्रदेशमा निःशुल्क ुब्लु बसु सञ्चालन गर्ने घोषणा पनि कार्यान्वयनमा आउन सकेको छैन ।
भूमिसम्बन्धी नीति अझै विवादमै
भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधान गर्ने सरकारको नीति पनि विवादरहित बन्न सकेको छैन ।
सरकारले सुकुम्बासी बस्ती व्यवस्थापनको प्रक्रिया अघि बढाए पनि विस्थापितहरूको पुनःस्थापनाबारे विभिन्न आन्दोलन र सर्वोच्च अदालतमा मुद्दाहरू दायर भएका छन् ।
प्रधानमन्त्रीकै कार्यशैली प्रश्नमा
तीन महिनाको अवधिमा सरकारभन्दा बढी प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली नै राजनीतिक बहसको केन्द्र बन्यो ।
संसद्प्रति अपेक्षित उत्तरदायित्व नदेखाएको आरोप पहिलो विवाद बन्यो भने प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिले अर्को राजनीतिक विवाद जन्मायो ।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग नियमित प्रश्नोत्तरको व्यवस्था कार्यान्वयन गर्न विपक्षी दलहरूले पटक–पटक माग गर्दै सदन अवरुद्ध गरे ।
पछिल्ला संसदीय गतिविधिहरू हेर्दा देशका समसामयिक आर्थिक, सामाजिक र विकासका मुद्दाभन्दा प्रधानमन्त्रीको अनुपस्थिति नै संसद्को प्रमुख राजनीतिक एजेन्डा बनेको दृश्य देखियो ।
तीन महिनाको अवधिमा बालेन नेतृत्वको सरकारले केही नयाँ अभ्यास सुरु गरेको, प्रशासनिक सुधारका संकेत दिएको र सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न खोजेको देखिन्छ ।
तर घोषणापत्र र सयबुँदे कार्यसूचीमा गरिएको महत्वाकांक्षी प्रतिबद्धताअनुसार नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाम भने अझै देखिएको छैन ।
प्रशासनिक सुधार, डिजिटल सेवा, शिक्षा र सार्वजनिक सेवा प्रवाहमा केही प्रारम्भिक उपलब्धि देखिए पनि भ्रष्टाचार नियन्त्रण, आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, विकास आयोजना, राजनीतिक स्थायित्व तथा संसद्प्रतिको उत्तरदायित्वका क्षेत्रमा सरकार अझै परीक्षामै रहेको विश्लेषकहरूको निष्कर्ष छ ।























