काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको हस्तक्षेपका कारण केही समय अन्योलमा परेको राहदानी छपाइ प्रक्रिया पुनः अघि बढेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालको पहलपछि जर्मन कम्पनीसँग भएको सम्झौताअनुसार असार ३१ (जुलाई १५) देखि नयाँ प्रणालीमार्फत राहदानी छपाइ सुरु गर्ने तयारी गरिएको छ ।
राहदानी विभागका अनुसार जर्मन कम्पनीका प्राविधिकहरू प्रणाली जडानमा व्यस्त छन् भने अन्तिम तयारीका लागि कम्पनीका प्रतिनिधि नेपाल आउँदै छन् ।
विभागले पुरानो डेटा नयाँ प्रणालीमा स्थानान्तरणको अधिकांश काम पूरा गरिसकेको छ र ५ लाख ५० हजार नयाँ पासपोर्ट बुकलेट पनि नेपाल आइपुगेका छन् ।
यसअघि प्रधानमन्त्री सचिवालयले जर्मन कम्पनीसँगको ठेक्का रद्द गरी हालको फ्रान्सेली कम्पनीबाटै राहदानी छाप्न दबाब दिएको थियो ।
त्यसपछि अख्तियारले विभागका अधिकारी र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दर्ता गरेपछि प्रक्रिया अन्योलमा परेको थियो ।
तर परराष्ट्र मन्त्रालयले नागरिकलाई पासपोर्ट अभाव हुन नदिने गरी पूर्वनिर्धारित तालिकाअनुसार नै नयाँ प्रणाली कार्यान्वयन हुने जनाएको छ ।


विश्व खबर 




















