काठमाडौं —सरकारले ट्राफिक नियम उल्लंघनमा कडाइ गर्दै पैदलयात्रीदेखि सवारी चालकसम्मलाई चर्को जरिवानाको व्यवस्था गर्ने गरी नयाँ कानुन ल्याउने तयारी गरेको छ। तर सरोकारवालाले सडक पूर्वाधार सुधार नगरी कठोर नियम लागू गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।
पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायातसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने उद्देश्यसहित नयाँ विधेयकको मस्यौदा तयार गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। प्रस्तावित मस्यौदाअनुसार पैदलयात्रीले निर्धारित स्थानबाहेक अन्यत्रबाट सडक पार गरे ५०० रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। सवारीमा अपारदर्शी कालो सिसा वा भित्र नदेखिने गरी अन्य सामग्री प्रयोग गरे एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।
मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाउने चालकका लागि पनि कडा सजाय प्रस्ताव गरिएको छ। दुई तथा तीनपांग्रे चालकलाई २५ हजार, साना सवारीलाई ३५ हजार र मझौला तथा ठूला सवारीलाई ५० हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था राखिएको छ। यस्तै, गति सीमा उल्लंघन गर्ने चालकलाई पनि सवारीको वर्गअनुसार २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव गरिएको छ। तर तोकिएको गति सीमाभन्दा पाँच प्रतिशतसम्म बढी भए जरिवाना नलाग्ने उल्लेख छ।
मस्यौदामा सुरक्षित गति सीमाभन्दा अत्यन्त कम गतिमा सवारी चलाए ३ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था पनि समावेश गरिएको छ। साथै, लामो दूरीका सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु बोके २० हजार, मध्यम दूरीमा १० हजार र छोटो दूरीमा ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने प्रस्ताव छ। हेल्मेट वा सिटबेल्ट प्रयोग नगरे ३ हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था पनि राखिएको छ।
सार्वजनिक सवारीले तोकिएकोभन्दा बढी भाडा असुलेमा बढी लिएको रकम यात्रुलाई फिर्ता गराई थप २ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान पनि प्रस्ताव गरिएको छ।
यद्यपि, विज्ञहरूले सडक पूर्वाधारको अवस्था सुधार नगरी नागरिकमाथि मात्र आर्थिक भार थोपर्न खोजिएको बताएका छन्।
यसैबीच, प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले पनि ट्राफिक नियम कडा बनाउनुअघि राज्यले सुरक्षित सडक, प्रभावकारी ट्राफिक व्यवस्था र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्। उनले नागरिकलाई मात्र दण्डित गर्ने होइन, सडकको दुरवस्था, ट्राफिक व्यवस्थापनको कमजोरी तथा सरकारी निकायको लापरबाहीका लागि पनि राज्यलाई जवाफदेही बनाउने कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्।























