काठमाडौं– पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) र नेकपालाई नजिक ल्याउने पहलमार्फत आफूलाई वाम आन्दोलनको साझा नेताका रूपमा स्थापित गर्ने प्रयास थालेकी छन् ।
मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललाई एउटै मञ्चमा उभ्याएर उनले वाम एकताको सन्देश दिएकी हुन् ।
विद्याले बदलिँदो जनआकांक्षा अनुसार कम्युनिस्ट आन्दोलनले आफूलाई परिष्कृत गर्दै नीति र नेतृत्वमा नयाँ क्षमता विकास गर्नुपर्ने बताइन् ।
कार्यक्रममा सहभागी नेताहरूले पनि वाम शक्तिबीच कार्यगत एकता र सहकार्य आवश्यक रहेको धारणा राखे ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो पहलले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनाउने मात्र नभई विद्या भण्डारीलाई एमालेभित्र र समग्र वाम राजनीतिमा प्रभावशाली नेताका रूपमा उभ्याउने रणनीतिक प्रयासको संकेत गरेको छ ।























