काठमाडौँ — नेपाली कांग्रेसले सस्तो लोकप्रियताका लागि संघीयता र संविधानको आधारभूत संरचनामाथि हस्तक्षेप गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएको छ । संविधानको मूल मर्ममाथि प्रहार भए सदनदेखि सडकसम्म प्रतिरोधमा उत्रिने कांग्रेसले जनाएको छ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रञ्जित कर्णले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै संघीय व्यवस्था कमजोर पार्ने गतिविधिप्रति आपत्ति जनाए।
मैथिली भाषामा सम्बोधन गर्दै उनले विगतमा जनकपुर, कर्णाली र सुदूरपश्चिममा प्रदेशलाई बलियो बनाउने तथा अधिकार विकेन्द्रीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्ने नेतृत्व अहिले मौन रहेको भन्दै प्रश्न उठाए।
सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले हालै चितवन भेलामार्फत प्रदेश सभा खारेज गर्ने प्रस्ताव अघि सारेको उल्लेख गर्दै कर्णले संघीय व्यवस्था कसैको दान वा कृपाबाट प्राप्त नभएको बताए। उनले १७ हजारभन्दा बढी नेपालीको बलिदान, मधेस आन्दोलन तथा दलित, जनजाति र उत्पीडित समुदायको संघर्षबाट संघीय व्यवस्था स्थापित भएको उल्लेख गरे।
प्रदेश सरकार प्रभावकारी हुन नसक्नुको मुख्य कारण संघीय सरकारले आवश्यक कर्मचारी र अधिकार हस्तान्तरण नगरेको उनको भनाइ थियो। ‘खुट्टा बाँधेर दौड प्रतियोगितामा पठाउने अनि दौडिन सकेन भनेर प्रदेशलाई दोष दिने प्रवृत्ति उचित होइन,’ उनले भने।
सांसद कर्णले सरकार सुशासन कायम गर्न असफल भएको दाबी गर्दै महँगी सात प्रतिशत नाघेको र दैनिक करिब २५ सय युवा रोजगारीका लागि विदेशिन बाध्य भएको बताए।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेन्डा अघि सारेर संविधानको आधारभूत संरचना परिवर्तन गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहन सबै राजनीतिक दललाई आग्रह गरे।























