काठमाडौं– लामो समयदेखि अलग-अलग मञ्च प्रयोग गर्दै आइरहेका दुई मुख्य कम्युनिस्ट घटक एमाले र नेकपाबीच एकताको लागि दबाब बढ्दै गएको छ । विशेषगरी स्थानीय तह निर्वाचनको विषयमा तालमेल गर्न दुबै पार्टीका तल्लो तहबाट माग बढ्दै गएको छ ।
२०७७ सालको प्रतिनिधिसभा विघटनसँगै विभाजित भएका दुई कम्युनिस्ट घटकको पुनर्मिलनको शुरुवात ललितपुरबाट थालिएको छ ।
तत्कालीन नेकपा विघटनपछि एमाले र माओवादी केन्द्र (हाल नेकपा) बनेका दलहरुबीच एउटै ब्यानरमा शनिबार सम्भवतः पहिलोपटक औपचारिक कार्यक्रम हुँदैछ ।
गोदावरी नगरपालिका वडा नम्बर ३ मा एमाले र नेकपाका वडा कमिटीले तिहार,नेपाल संवतका साथै छठको समेत शुभकामना कार्यक्रम संयुक्तरुपमा आयोजना गरेका छन् ।
एकातिर एमाले अध्यक्ष केपी शर्मा ओली र अर्कोतिर नेकपा संयोजक प्रचण्डको फोटो राखेर बाँडिएको निमन्त्रणापत्र दुवै दलका वडाध्यक्षले नेताहरुलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

शनिबार बिहान गोदावरी पार्टी प्यालेस टौखेलमा आयोजना हुने कार्यक्रमको संयोजन एमालेका वडा कमिटी अध्यक्ष प्रल्हाद सिलवाल र नेकपाका भगतमान बम्जनले गरेका छन् ।
पार्टी विभाजनले ठूलो क्षति भएको अवस्थामा स्थानीय तहको आसन्न निर्वाचनमा कार्यगत एकता र तालमेल गरेर वाम आन्दोलनलाई पुनर्गठन गर्ने उद्देश्यले सन्देशमूलक कार्यक्रम ललितपुरबाट थालिएको एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले बताए ।
उनले विश्वखबरसँग भने, ‘अन्यत्र जेसुकै होस् ललितपुरमा चाहि स्थानीय निर्वाचनमा दुई पार्टीबीच तालमेल हुनेछ । उनका अनुसार यही उद्देश्यले शनिबार दुबै पार्टीका नेताहरुलाई कार्यक्रमको अतिथि बनाइएको हो । उनका अनुसार दुबै नेताहरुले कार्यक्रममा आउने प्रतिवद्धता जनाएका छन् ।






















