काठमाडौं– प्रतिष्ठित बूढानीलकण्ठ विद्यालयमा अध्ययनरत १२ वर्षीया एक बालिका शिक्षिकाबाट भएको कथित शारीरिक तथा मानसिक दुर्व्यवहारपछि गम्भीर मानसिक समस्याबाट ग्रसित बनेकी छन् ।
परिवारका अनुसार विद्यालयभित्र निरन्तर तर्साउने, गाली गर्ने र दुर्व्यवहार गरिएपछि उनी कन्भर्जन डिसअर्डर (मानसिक आघातजन्य अवस्था)को शिकार भएकी हुन् ।
पीडितकी आमा सावित्रा घिमिरेले विद्यालयका दुई शिक्षिकामाथि छोरीलाई कक्षाकोठामा एक्लै पारेर प्रताडना दिएको आरोप लगाएकी छन् ।
विभिन्न अस्पतालमा गरिएको परीक्षणपछि चिकित्सकहरूले शारीरिक रोग नभई गहिरो मानसिक आघातका कारण समस्या उत्पन्न भएको निष्कर्ष निकालेका छन् ।
परिवारले विद्यालय, बाल अधिकार परिषद्, शिक्षा मन्त्रालय र प्रहरीमा उजुरी दिए पनि प्रभावकारी कारबाही नभएको आरोप लगाएको छ ।
विद्यालय प्रशासनले भने आन्तरिक छानबिनमा शिक्षिकामाथिको आरोप पुष्टि नभएको जनाएको छ ।
हाल बालिका विद्यालय जान नसक्ने अवस्थामा रहेकी छन् भने परिवारले दोषीमाथि कानुनी कारबाही र पीडितलाई न्यायको माग गर्दै आएको छ ।
यो विद्यालयमा यसअघि वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्लेले अध्ययन गरेका थिए ।
यसका साथै उनले आफूले पढेको विद्यालय भन्दै अरबौ रकम छुट्याएका छन् ।
बूढानीलकण्ठमा तत्कालीन राजामहाराजाका सन्तान पनि पढ्ने गर्छन् ।























