images
images
  • भेनेजुएला भूकम्प चार दिनपछि भग्नावशेषबाट बाबु–छोराको जीवित उद्धार

    काठमाडौं–भेनेजुएलामा गएको विनाशकारी भूकम्पको चार दिनपछि एक भत्किएको भवनको भग्नावशेषबाट बाबु र उनका छोरालाई जीवितै उद्धार गरिएको छ। आइतबार भएको यो सफल उद्धारसँगै प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाइएको छ।

    सबैभन्दा बढी प्रभावित ला गुइरा राज्यमा उद्धारकर्मीहरूले शारीरिक रूपमा निकै कमजोर अवस्थामा रहेका बाबु–छोरालाई स्ट्रेचरमार्फत एम्बुलेन्ससम्म पु¥याएका थिए। उनीहरूलाई उद्धार गर्नुअघि विशेष सर्च क्यामेराको सहायताले करिब १२ घण्टासम्म भग्नावशेषभित्र खोजी गरिएको थियो।

    फ्रान्सेली नागरिक सुरक्षाका एक अधिकारीका अनुसार चार दिनसम्म भग्नावशेषमुनि रहेकाले दुवैको स्वास्थ्य अवस्था गम्भीर छ। उद्धार कार्यकै क्रममा उनीहरूलाई सलाइन र आवश्यक औषधि दिइएको थियो।

    प्रभावित क्षेत्रमा फ्रान्सेली नागरिक सुरक्षा टोली र अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टी अर्बन सर्च एन्ड रेस्क्यु टोली संयुक्त रूपमा उद्धार अभियानमा खटिएका छन्। यही टोलीले शनिबार एक आमा र उनका नौ महिनाका शिशुलाई पनि जीवितै उद्धार गरेको थियो।

    उद्धारकर्मीहरूले भग्नावशेषभित्र थप जीवित व्यक्तिको खोजी जारी राखेका छन्। यस साताको अन्त्यसम्ममा कम्तीमा ३३ जनाको जीवितै उद्धार गरिएको छ। यद्यपि, अझै हजारौँ मानिस बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। विशेषज्ञहरूका अनुसार भूकम्प गएको ७२ घण्टापछि भग्नावशेषमुनि जीवित व्यक्ति भेटिने सम्भावना निकै कम हुने गर्छ।

    नेसनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार आइतबारसम्म मृत्यु हुनेको संख्या १ हजार ४५० पुगेको छ। भूकम्पमा परी ३ हजार १५० जना घाइते भएका छन् भने १२ हजार ७२१ जना विस्थापित भएका छन्। साथै ७७४ वटा भवन पूर्ण रूपमा भत्किएका छन्।

    कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले उद्धार अभियान निरन्तर जारी रहने बताएका छन्। उनले क्षतिग्रस्त भवनहरूको अवस्था मूल्याङ्कन गर्न राष्ट्रपतीय आयोग गठन गरिएको जानकारी दिँदै प्रभावित क्षेत्रमा विद्यालयहरू थप एक साताका लागि बन्द गरिएको र ला गुइरामा ७५ प्रतिशत विद्युत् सेवा पुनः सञ्चालनमा आएको बताए।

    सरकारले सयौँ मानिस अझै बेपत्ता रहेको जनाएको छ। यद्यपि, विपक्षी पक्षले सञ्चालन गरेको एक वेबसाइटमा करिब ५० हजार मानिस अझै सम्पर्कविहीन रहेको दाबी गरिएको छ। निरन्तर परकम्प आइरहेका कारण स्थानीयवासी त्रासमा रहेका छन् भने केही स्थानमा पर्याप्त उद्धार उपकरणको अभाव भएको भन्दै असन्तुष्टि पनि बढ्दै गएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images