images
images
  • पाकिस्तानको दाबी : अफगानिस्तानमा सैन्य कारबाही, २९ आतंकवादी मारिए

    काठमाडौं: पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा सञ्चालन गरिएको सैन्य कारबाहीमा २९ जना आतंकवादी मारिएको दाबी गरेको छ। पाकिस्तान सरकारका अनुसार आइतबार र सोमबारको मध्यरातमा प्राप्त गुप्तचर सूचनाका आधारमा उक्त कारबाही गरिएको हो।

    पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अत्ताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा पाकिस्तानी सेनाले ड्युरान्ड लाइन नजिक सुनियोजित स्थलगत कारबाही सञ्चालन गरेको जानकारी दिएका छन्। उनका अनुसार त्यसपछि सीमावर्ती क्षेत्रमा सक्रिय प्रतिबन्धित संगठन जमात–उल–अहरार र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का ठेगाना तथा सुरक्षित क्याम्पहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरिएको थियो।

    मन्त्री तरारले बाजौर क्षेत्र केन्द्रित स्थलगत कारबाहीमा जमात–उल–अहरारका कमान्डर खान फ्रोस उर्फ जबालसहित अन्य तीन सदस्य मारिएको दाबी गरेका छन्। साथै, कारबाहीका क्रममा अन्य धेरै आतंकवादी घाइते भएको पनि उनले बताएका छन्।

    यता, अफगानिस्तानको तालिबान सरकारले भने पाकिस्तानको दाबी अस्वीकार गर्दै हवाई आक्रमणमा सर्वसाधारण नागरिकको ज्यान गएको आरोप लगाएको छ।

    बीबीसी पस्तोका अनुसार तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी हवाई आक्रमणका क्रममा महिला र बालबालिकासहित सर्वसाधारणको मृत्यु तथा घाइते भएको दाबी गरेका छन्। उनले उक्त आक्रमणलाई “कायरतापूर्ण कार्य” को संज्ञा दिएका छन्।

    पाकिस्तानी सेनाले अफगानिस्तानको पूर्वी कुनार प्रान्त तथा दक्षिण–पूर्वी पक्तिया र पक्तिका प्रान्तका चामकानी र ज्ञान जिल्लामा हवाई आक्रमण गरेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images