images
images
  • अमेरिकाले पुनः आक्रमण गरेपछि कुवेत र बहराइनका सैन्य बेसमा इरानी मिसाइलको वर्षा

    काठमाडौं– अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेको जनाएको छ ।

    अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार यो कारबाही स्ट्रेट अफ हर्मुज हुँदै गन्तव्यतर्फ गइरहेको एक व्यावसायिक तेल ट्याङ्करमाथि भएको इरानी आक्रमणको प्रत्यक्ष जवाफ हो ।

    सेन्टकमले जारी गरेको विज्ञप्तिमा इरानले शनिबार पानामाको झन्डा बोकेको तथा करिब २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेको तेल ट्याङ्कर किकु माथि ड्रोन आक्रमण गरेको दाबी गरिएको छ ।

    उक्त घटनापछि अमेरिकी नौसेना र वायुसेनाले स्थानीय समयअनुसार शनिबार राति स्ट्रेट अफ हर्मुज र आसपासका क्षेत्रमा रहेका १० वटा इरानी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ ।

    अमेरिकी सेनाका अनुसार आक्रमण इरानको निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र, ड्रोन भण्डारण केन्द्र तथा समुद्रमा विस्फोटक पदार्थ बिछ्याउने क्षमतामाथि केन्द्रित थियो ।

    सेन्टकमले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर)मा ३५ सेकेन्ड लामो एउटा भिडियो पनि सार्वजनिक गरेको छ, जसमा आकाशबाट खिचिएका विभिन्न विस्फोटका दृश्य देखिएका छन् ।

    उता, इरानी सञ्चारमाध्यमहरूले दक्षिणी इरानका सिरिक र केश्म क्षेत्रमा लगातार विस्फोट भएको जानकारी दिएका छन् ।

    यद्यपि आक्रमणबाट भएको क्षतिको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

    यसअघि पनि अमेरिकाले शुक्रबार अर्को व्यावसायिक जहाज एभर लभ्लीमाथि भएको इरानी आक्रमणको प्रत्युत्तरस्वरूप इरानका केही लक्ष्यमा हवाई कारबाही गरेको थियो ।

    अमेरिकी आक्रमणपछि कुवेत र बहराइन इरानी प्रतिआक्रमणको दाबी

    यसैबीच, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)ले अमेरिकी आक्रमणको बदलास्वरूप कुवेत र बहारिनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ ।

    आईआरजीसीले जारी गरेको विज्ञप्तिअनुसार कुवेतको अलि अल–सलेम हवाई अड्डा तथा बहारिनको पोर्ट सलमान क्षेत्रमा रहेको अमेरिकी नौसेनाको फिफ्थ फ्लिटसहित आठ महत्वपूर्ण अमेरिकी सैन्य सुविधामाथि भारी विस्फोटक प्रयोग गरी आक्रमण गरिएको दाबी गरिएको छ ।

    विज्ञप्तिमा इरानले भविष्यमा हुने कुनै पनि अमेरिकी आक्रामकताको कडा र विनाशकारी जवाफ दिने चेतावनी पनि दिएको छ ।

    यद्यपि कुवेत, बहारिन वा अमेरिकी अधिकारीहरूले आईआरजीसीले गरेको प्रतिआक्रमणको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गरेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images