काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका चार आकांक्षीले उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेका छन् ।
प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र जगदीश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी महाधिवेशन प्रतिनिधिलाई विपिन आचार्यलाई मतदान गर्न आग्रह गरेका हुन् ।
यसअघि शिशिर खनालले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।
महाधिवेशनमा मतदानअघि सभापति रवि लामिछानेले महामन्त्री पदमा सर्वसम्मतिको प्रयास गरेका थिए ।
पूर्ण सहमति नभए पनि केही उम्मेदवार पछि हट्दै आचार्यको पक्षमा खुलेका हुन् ।
समर्थनपछि आचार्यले प्रतिस्पर्धाभन्दा अघि सहकार्यको संस्कृतिलाई प्राथमिकता दिएको भन्दै पार्टीलाई एकताबद्ध बनाउने सन्देश दिएको प्रतिक्रिया दिए ।
अब महामन्त्री पदका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल चुनावी प्रतिस्पर्धामा छन् भने अन्तिम सहमतिका लागि अझै प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।























