काठमाडौं– निर्यात समस्याको समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरी पहल गर्ने आश्वासन दिएपछि झापा र इलामका बन्द चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् ।
भारतले नेपाली चियामा नयाँ गुणस्तर परीक्षण मापदण्ड लागू गरेपछि निर्यात प्रभावित हुँदा झापाका ३० सहित करिब सय उद्योग बन्द भएका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गरेपछि उद्योगीहरूले उद्योग खोल्ने निर्णय गरेका हुन् ।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताका अनुसार सरकारले माग सम्बोधनमा चासो देखाएपछि उद्योग सञ्चालन गरिएको हो ।
झापाका उद्योग खुलिसकेका छन् भने इलामलगायत पहाडी जिल्लाका उद्योगहरू पनि सञ्चालनमा आउने क्रममा छन् ।
कार्यदलले दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहित प्रतिवेदन बुझाउनेछ ।
निर्यात अझै सहज नभएकाले उत्पादित चिया भने गोदाममै भण्डारण गरिने उद्योगीहरूले बताएका छन् ।
भारतीय अवरोधका कारण उद्योग बन्द हुँदा दैनिक करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको थियो भने १ लाखभन्दा बढी मजदुर र ३० हजार किसान प्रभावित भएका थिए ।


विश्व खबर 




















