images
images
  • मोबिलिटी क्षेत्रमा युवा उद्यमशीलताको सम्भावना

    करणकुमार चौधरी

    नेपालमा अहिले युवा पुस्तामा उच्च आकांक्षा र एक किसिमको असन्तोष दुवै सँगसँगै देखिन्छ । युवाहरूको यो आकांक्षा र असन्तोषलाई रचनात्मक रूपमा सम्बोधन गर्ने सबैभन्दा उपयुक्त माध्यम उद्यमशीलता नै हो । युवाहरूलाई बदलिँदो वैश्विक र स्थानीय परिवेशअनुसार अघि बढ्न प्रेरित गर्दै उद्यमशीलतालाई दिगोपनसँग जोड्नु आवश्यक छ । अब युवा शक्तिलाई लगानी र मोबिलिटीको समानान्तर शक्तिका रूपमा अघि बढाउन जरूरी भइसकेको छ ।

    नेपाल अहिले युवा शक्ति, ऊर्जा शक्ति र रूपान्तरण शक्तिको त्रिवेणीमा उभिएको छ । हालको ठूलो युवा जनसंख्याले श्रम बजारमा नयाँ ऊर्जा थपेको छ भने जलविद्युत्‌मा आधारित ग्रिडले मुलुकलाई हरित र किफायती ऊर्जामा आत्मनिर्भर बन्ने भरोसा दिएको छ । यही पृष्ठभूमिमा हाम्रो अटोमोबाइल उद्योग पनि परम्परागत ‘बिक्रीकेन्द्रित मोडल’बाट रूपान्तरित हुँदै सेवा, ऊर्जा र डिजिटल प्लेटफर्म मिसिएको ‘मोबिलिटी इकोसिस्टम’तर्फ अघि बढिरहेको छ ।

    ईभीको बढोत्तरी र सिर्जित अवसरहरू

    अहिले विद्युतीय सवारी (ईभी) को क्षेत्रमा देखिएको तीव्र बढोत्तरीले सहज सहरीकरण, वायुको गुणस्तरमा सुधार र पेट्रोलियम इन्धन आयात न्यूनीकरणमा सकारात्मक मोड सम्भव बनाएको छ । यसले गर्दा बजारमा चार्जिङ पूर्वाधार, फ्लिट–टेक र ब्याट्री लाइफसाइकलजस्ता सर्वथा नयाँ क्षेत्रहरू थपिएका छन्, जसले युवाहरूलाई उद्यममा जोडिने बलियो आधार दिएका छन् ।

    मोबिलिटीजस्तो बहुआयामिक क्षेत्रको विशेषता के हो भने यहाँ स–सानो भौतिक सम्पत्ति, डिजिटल प्लेटफर्म वा केवल सेवा कौशलको माध्यमबाट पनि सहजै उद्यम सुरु गर्न सकिन्छ । नयाँ युवा उद्यमीका लागि पहिलो व्यवसाय सुरु गर्ने सम्भावना र अवसरहरू यहाँ प्रशस्त छन् ।

    यद्यपि, यी सम्भावनाका बीच वित्तीय पहुँच अझै पनि असमान छ । पुँजी उपलब्ध हुँदा पनि सुरक्षित लगानी सुनिश्चित हुन नसक्दा धेरै युवाहरू उद्यमतर्फ पहिलो कदम चाल्न हिचकिचाइरहेका छन् । यसका लागि राज्यले नीतिगत स्थिरता कायम गर्दै सकारात्मक दीर्घकालीन संकेतहरू देखाउन जरूरी छ । नेपालमा हरेक वर्ष ठूलो संख्यामा युवा श्रम बजारमा प्रवेश गर्छन् । डिजिटल साक्षरता, सामाजिक सञ्जाल र अनलाइन सिकाइको यो युगले युवालाई छोटो समयमै सीप सिक्ने अवसर त दिएको छ, तर विभिन्न संरचनागत कारणले रोजगारीमा देखिएका समस्याहरूको पूर्ण समाधान हुन सकिरहेको छैन ।

    सोचमा परिवर्तनः स्वामित्वबाट सेवातर्फ

    वर्तमान युवा पुस्ताले सवारी साधनको ‘स्वामित्व’ भन्दा पनि त्यसको ‘उपयोग वा प्रवेश’लाई प्राथमिकता दिन थालेका छन् । यही कारण बजारमा सब्स्क्रिप्सन, सेयरिङ र पे–पर–यूज जस्ता मोडलहरूले गति पाइरहेका छन् । यो प्रवृत्तिले सवारी साधनमा स्वामित्व केन्द्रित परम्परागत सोचलाई विस्तारै सेवाग्राही केन्द्रित बनाउँदै लगेको छ । छिटो, सरल, मोबाइल–फर्स्ट, पारदर्शी एवं सामाजिक रेटिङ र रिभ्यूका कारण अचेल सेवाको गुणस्तर नै व्यवसायको निर्णायक तत्व बन्दै गएको छ ।

    अबको मोबिलिटी क्षेत्रमा तीनवटा तत्वको मिसावट अनिवार्य भइसकेको छः सवारी (हार्डवेयर), ऊर्जा (ग्रिड तथा स्टोरेज) र सेवा (डिजिटल प्लेटफर्म) । गाडी बेचियो, काम सकियो भन्ने पुरानो युग अब समाप्त हुँदै छ । अब गाडीको प्रयोग, मर्मतसम्भार, चार्जिङ, ऊर्जा व्यवस्थापन, बिमा, डेटा एनालिटिक्स, पुनः बिक्री मूल्य र ग्राहकको जीवन चक्र सम्हाल्न सक्ने अर्थात् एउटै छानामुनि ‘वन स्टप समाधान’ दिनेहरू नै बजारमा प्रतिस्पर्धात्मक बन्न सक्नेछन् ।

    सञ्चालन लागतमा हुने ठूलो बचत, प्रतिकिलोमिटर न्यून ऊर्जा खर्च, कम मर्मतसम्भार खर्च र सार्वजनिक नीतिले अघि सारेको हरित अवधारणाका कारण उपभोक्ताहरूमा विद्युतीय सवारीको स्वीकार्यता तीव्र रूपमा बढिरहेको छ । सामाजिक मान्यताका रूपमा ईभी स्थापित हुँदै जाँदा कर्पोरेट र पर्यटन क्षेत्रमा समेत विद्युतीय सवारी नै रोज्नेहरूको संख्या बढ्दो छ ।

    चार्जिङ पूर्वाधार र स्थानीय आवश्यकताअनुसारको ढाँचा

    यस क्षेत्रमा चार्जिङ पूर्वाधार विस्तार गर्दा अब संख्यामा भन्दा पनि गुणस्तर र प्रविधिमा ध्यान दिनुपर्ने देखिन्छ । यसका लागि एसी मिड र डीसी फास्ट चार्जरको रणनीतिक मिश्रण आवश्यक छ । सहरी क्लस्टरहरूमा ‘एसी मिड’ चार्जरले पार्क एन्ड चार्ज को समाधान दिन्छ भने राजमार्ग र अत्यधिक सवारी चाप हुने स्थानहरूमा ‘डीसी फास्ट’ चार्जर अनिवार्य हुन्छ । व्यवसायको वास्तविक सफलता अपटाइम, उपयोग घण्टा, सेसन कन्भर्जन र प्रयोगकर्ताको सन्तुष्टिमा निर्भर रहन्छ ।

    नेपालको भौगोलिक विविधताअनुसार फरक–फरक मोडलहरू आवश्यक पर्छन् । उदाहरणका लागि, तराईका राजमार्ग क्लस्टरहरूमा ‘लास्ट माइल ई–कार्गो’, पहाडी क्षेत्रमा माइक्रोग्रिडसँग जोडिएको ‘स्मार्ट चार्जिङ र छोटो दूरीको सवारी’, तथा हिमाली एवं पर्यटन केन्द्रहरूमा ‘भ्यूपोइन्ट सटल’ जस्ता मोडलहरू स्थानअनुकूल समाधान हुन् । एउटै मोडल सबै ठाउँमा फिट हुन सक्दैन । स्थानअनुसारको उपयुक्त डिजाइन, गुणस्तरीय हार्डवेयर र स्थानीय साझेदारी नै यस व्यवसायको दीर्घकालीन दिगोपनका आधार हुन् ।
    युवा उद्यमीले काम गर्न सक्ने सम्भावित क्षेत्रहरू मोबिलिटीको यो विशाल संसारमा युवाहरूलाई सानो आकारको र स्वपुँजी (आफ्नै लगानी) बाट गर्न सकिने कामहरूमा सहजै आकर्षित गर्न सकिन्छ । युवाहरूले निम्न क्षेत्रमा केन्द्रित भएर नयाँ उद्यम सुरु गर्न सक्छन्‌ः

    सवारी र राइड सेयरिङः ई–स्कुटर, हेल्मेट, सेवाप्याक, क्यूआर पे, र ई–बाइक राइड सेयरिङ ।

    चार्जिङ र पार्किङ साझेदारीः एसी चार्जिङ पूर्वाधारका लागि अन्डरग्राउन्ड पार्किङ र मल्टिपर्पस हलहरूसँग साझेदारी । राजमार्ग हबः डीसी फास्ट चार्जिङका लागि बसपार्क र हाइवे हबहरूमा अपटाइम एसएलए र मिनिमम ग्यारेन्टी भाडा मोडलमा काम ।

    ब्याट्री प्रविधि र सेवाः ब्याट्री हेल्थ डायग्नोस्टिक्स सेन्सर, एप रिपोर्टिङ, र फ्लीट का लागि बीटूबी सेवा । सेकेन्ड लाइफ ब्याट्रीः ब्याट्री रि–म्यानुफ्याक्चरिङ र सेकेन्ड लाइफ ब्याट्री प्रयोग गरी माइक्रोग्रिड तथा सौर्य ऊर्जासँग जोडिएका मिनी स्टोरेज निर्माण ।

    माइक्रो र्फ्यान्चाइज र एसेम्बलीः ईभी सर्भिस माइक्रो र्फ्यान्चाइज (डायग्नोस्टिक, टुल, ट्रेनिङ, पाट्र्स लजिस्टिक्स) र स्थापित मानकअनुसार चार्जर, केबल तथा माउन्ट एसेम्बलीको स्थानीयकरण ।

    पर्यटन र संस्थागत यातायातः ईभी ट्याक्सी, सटल–एयरपोर्ट, होटल तथा हेरिटेज रूटहरूमा ईभी सेवा । फ्लीट व्यवस्थापन र प्रविधिः फ्लीट म्यानेजमेन्ट, टेक–टेलिमेट्रिक्स, ड्राइभर स्कोर र रूट अप्टिमाइजेसन ।

    डेटा इन्साइट्सः चार्जिङ उपयोगको ट्रेन्ड, ट्राफिक हिटम्याप र ईभी रेडिनेस रिपोर्टसम्बन्धी डेटा स्टुडियो । सुरक्षा र समावेशी पूर्वाधारः महिलामैत्री चार्जिङ हब, सीसीटीभी जडान र सेफ्टी स्ट्यान्डर्ड व्यवस्थापन ।

    वित्तीय स्रोत, लगानी र नीतिगत निरन्तरता

    नेपालको वित्तीय बजारलाई हेर्ने हो भने रेमिटेन्स (विप्रेषण) ले घरेलु बचतलाई मजबुत बनाएको छ र बैंकिङ प्रणालीमा तरलता घुमिरहेको छ । तर, यस पुँजीलाई उत्पादनमुखी क्षेत्रमा भित्र्याउने बलियो संरचनाको भने अझै अभाव छ । यही रिक्तता व्यवस्थापन गर्न ‘ब्लेन्डेड फाइनान्स’ को अवधारणा आवश्यक छ, जहाँ वित्तीय ग्यारेन्टी, ब्याज अनुदान, क्यापेक्स रिवेट र इक्विटी लोनको उचित मिश्रण हुन्छ । यसले नै उद्यमशीलताको दीर्घकालीन समाधान दिन सक्छ ।

    लगानीका सम्भावित स्रोतहरूमा बैंक तथा वित्तीय संस्था, एमएफआईका युवा/महिला उद्यमी प्याकेज, माइक्रो लिजिङ र एसेट ब्याक्ड कर्जा हुन सक्छन् । प्रविधिमा आधारित प्लेटफर्मका लागि भेन्चर क्यापिटल र एन्जेल इन्भेस्टरहरूबाट इक्विटी जुटाउन सकिन्छ । त्यस्तै, कर्पोरेट क्षेत्रबाट ग्रीन फाइनान्स वा ईएसजी इम्प्याक्ट फन्ड आकर्षित गर्न सकिन्छ । नगरपालिकाहरूसँगको साझेदारीमा बसपार्क, हाइवे हब र टुरिजम साइटहरूमा सार्वजनिक–निजी साझेदारी मोडलमा काम गर्न सकिन्छ भने पूँजीबजारबाट म्युचुअल फन्ड, डिबेन्चर र ग्रीन बन्डजस्ता वित्तीय उपकरणहरू प्रयोग गर्न सकिन्छ ।

    नयाँ उद्यमहरूलाई आकर्षित गर्न सुरुवाती चरणमा लाभको निश्चिन्तता हुनुपर्छ । ब्याज अनुदान र व्यवसायको क्यास फ्लो (नगद प्रवाह) स्थिर नभएसम्मका लागि केही महिना सरकारले नीतिगत सहजीकरण र परिणाममा आधारित विभिन्न वित्तीय सुविधाहरू उपलब्ध गराइदिनुपर्छ । जब नियमहरू स्पष्ट र स्थिर हुन्छन्, तब मात्र नयाँ उद्योगले गति पाउँछ । नियमहरू पूर्वानुमानयोग्य हुन आवश्यक छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीतिका साथै डेटा रिपोर्टिङ र ‘ओपन इन्साइट्स’ संस्कृतिको विकास गरिनुपर्छ, जहाँ बजार, पूर्वाधार र रोजगारीका सूचकहरू सार्वजनिक हुन् र यसले लगानीकर्ताको विश्वास बढाओस् ।

    हाम्रो जस्तो मुलुकमा सामाजिक–राजनीतिक अस्थिरता, मौसमी उतारचढाव, वित्तीय तरलता र ब्याजदरको चक्र चलिरहने हुँदा स्थिर नीतिको निरन्तरता सबैभन्दा महŒवपूर्ण हुन्छ । यसका साथै उद्यमी स्वयंले पनि जोखिम व्यवस्थापनका लागि अन्य सुरक्षित वित्तीय उपकरणहरू तयारी अवस्थामा राख्नुपर्छ । ग्रिडको जोखिम सम्हाल्न ‘डिमान्ड रेस्पोन्स’, ‘टाइम अफ डे’ (त्इम्) ट्यारिफ र सेकेन्ड लाइफ स्टोरेजजस्ता मोडलहरू उपयोगी हुन सक्छन् ।

    सातै प्रदेशमा सम्भाव्यताको मार्गचित्र

    भौगोलिक र आर्थिक विशिष्टताका आधारमा सातै प्रदेशमा ई–मोबिलिटीका फरक–फरक सम्भावनाहरू छन् :

    कोसी प्रदेशः औद्योगिक र शैक्षिक हबहरूलाई केन्द्रित गरी ईभी सर्भिस र ‘एसी मिड’ चार्जिङ स्टेसनहरू खोल्न सकिन्छ भने पहाडी रूटहरूमा ‘स्मार्ट चार्जिङ’ पूर्वाधार स्थापना गर्न सकिन्छ ।

    मधेस प्रदेशः पूर्व–पश्चिम राजमार्गको मुख्य करिडोरलाई केन्द्रित गरी चार्जिङ र लजिस्टिक्स हबहरू निर्माण गर्न सकिने प्रशस्त सम्भावना छ ।

    बागमती प्रदेशः सहरी क्षेत्र बढी भएकाले कर्पोरेट फ्लीट, राइड पुलिङ, क्याम्पस सटल, डेटा हब र एनालिटिक्स स्टुडियोमा युवाहरूले काम गर्न सक्छन् ।
    गण्डकी प्रदेशः पर्यटकीय क्षेत्र भएकाले पर्यटन सटल, भ्यूपोइन्ट, होटल, एयरपोर्ट ईभी सटल र ‘चार्जिङ टुरिजम’ का मोडलहरू उपयुक्त छन् ।

    लुम्बिनी प्रदेशः बढ्दो औद्योगिक करिडोर र धार्मिक पर्यटनलाई लक्षित गरी ई–मोबिलिटी नेटवर्क विस्तार गर्न सकिन्छ ।

    कर्णाली प्रदेशः केन्द्रीय ग्रिडको पहुँच कम भएका ठाउँमा माइक्रोग्रिड तथा मिनी हाइड्रोसँग जोडिएको ‘स्मार्ट चार्जिङ’ र सामुदायिक ई–मोबिलिटीको ठूलो सम्भावना छ ।

    सुदूरपश्चिम प्रदेशः सीमा नाकाहरूलाई जोड्ने लजिस्टिक्स कार्गो व्यवसाय र राजमार्गका मुख्य हबहरूमा ‘डीसी फास्ट चार्जर’ जस्ता पूर्वाधारमा काम गर्न सकिन्छ ।

    यस सिंगो इकोसिस्टमलाई गति दिन मानव संसाधनको विकास र सीपमूलक तालिम अनिवार्य छ । ईभी डायग्नोस्टिक्स, चार्जिङ अपरेसन, ब्याट्री इलेक्ट्रोनिक्स, टेलिमेट्रिक्स र डेटा व्यवस्थापन जस्ता क्षेत्रमा दिइने प्राविधिक तालिमले सानो लगानीमा पनि ठूलो रोजगारी सिर्जना गर्न सक्छ । यसका लागि अटोमोबाइल उद्योग र शैक्षिक क्षेत्र बीच सहकार्य गरी दक्ष जनशक्ति र बलियो इकोसिस्टम निर्माण गर्न ढिलाइ गर्नु हुँदैन ।

    सन् २०३० को लक्ष्य र उज्यालो भविष्य

    तथ्यांकलाई हेर्ने हो भने नेपालमा नयाँ निजी सवारी साधनको बिक्रीमा ईभीको हिस्सा सन् २०२५ सम्ममै ७३ प्रतिशत पुगिसकेको छ, जुन सन् २०३० सम्म ९० प्रतिशत पुग्ने प्रक्षेपण छ । चार्जिङ स्टेसनतर्फ हेर्दा, सन् २०२५ सम्म नेपाल विद्युत् प्राधिकरणबाट ६० भन्दा बढी र निजी क्षेत्रको साझेदारीमा अन्य सयौँ स्टेसनहरू निर्माण भइसकेका छन् । सन् २०२७ सम्म यो संख्या १ हजारभन्दा धेरै र २०३० सम्म पुग्दा १५ सयभन्दा बढी पुग्ने अनुमान छ । त्यस्तै, देशको कुल विद्युत् उत्पादन क्षमता सन् २०२५ मा ३६ सय मेगावाट, २०२७ मा ४५ सय मेगावाट र २०३० सम्म पुग्दा ६ हजार मेगावाटभन्दा बढी हुने अनुमान गरिएको छ ।

    ऊर्जा क्षेत्रको यो सबलताका कारण नेपालमा विद्युतीय सवारी र समग्र मोबिलिटी क्षेत्रको भविष्य अत्यन्त उज्यालो देखिन्छ । अब केवल नीतिगत स्थिरता र दुरदर्शी कार्ययोजनाको खाँचो छ । यदि हामीले दृढताका साथ काम गर्ने हो भने सन् २०३० भित्रै नेपाल दक्षिण एसियाकै एउटा उदाहरणीय ‘मोबिलिटी हब’ बन्न सक्छ । यो यात्रा केवल व्यापार र आर्थिक सम्भावनाको मात्र होइन, बरु नेपाली युवाहरूमा मुलुकप्रतिको भरोसा र विश्वास पुनर्स्थापना गर्ने महायात्रा पनि हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images