काठमाडौं– चार्टर्ड एकाउन्टेन्ट (सीए) पृष्ठभूमिका बैंकर मनोज ज्ञवालीले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हालेको एक वर्ष पूरा गरेका छन् ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा करिब साढे दुई दशक लामो अनुभव बोकेका ज्ञवालीको नेतृत्वमा बितेको यो एक वर्ष नबिल बैंकका लागि ‘सिस्टम स्टेबिलाइजेसन’ र संस्थागत सुदृढीकरणको वर्षका रूपमा चिनिएको छ ।
नेपाल राष्ट्र बैंकमा करिब पाँच वर्ष सहायक निर्देशकका रूपमा काम गरेका ज्ञवालीले यसअघि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र ज्योति विकास बैंकको नेतृत्व समेत सम्हालिसकेका छन् ।
नियामकीय अनुभव र बैंकिङ तथा पूँजी बजार दुवै क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण उनलाई नेपालको बैंकिङ क्षेत्रमा परिपक्व रणनीतिकारका रूपमा लिने गरिन्छ ।
मर्जरपछिको चुनौती र व्यवस्थापन
नेपाल बंगलादेश बैंकसँगको मर्जरपछि नबिल बैंक मुलुककै सबैभन्दा ठूलो निजी वाणिज्य बैंक बनेको थियो ।
तर, संस्थाको आकारसँगै विभिन्न चुनौतीहरू पनि थपिएका थिए ।
प्रणालीगत भिन्नता, निष्क्रिय कर्जाको दबाब, खर्च व्यवस्थापन तथा संगठनात्मक समायोजन बैंकका प्रमुख चुनौती बनेका थिए ।
यस्तो अवस्थामा सीईओको जिम्मेवारी सम्हालेका ज्ञवालीले आक्रामक विस्तारभन्दा संस्थागत स्थायित्वलाई प्राथमिकतामा राखे ।
विशेषगरी जोखिमयुक्त कर्जाको व्यवस्थापन, आन्तरिक प्रणाली सुधार तथा सुशासनलाई केन्द्रमा राख्दै उनले सुधारका कार्यक्रम अघि बढाए ।
खराब कर्जा नियन्त्रणमा उल्लेखनीय सफलता
मर्जरपछिको अवस्थासँगै देशको सुस्त आर्थिक गतिविधिले बैंकमा खराब कर्जाको दबाब बढाएको थियो ।
उच्च प्रोभिजनिङका कारण नाफामा समेत असर परिरहेको थियो ।
ज्ञवालीले कार्यभार सम्हालेसँगै कर्जा असुली र क्रेडिट अडिटलाई प्राथमिकतामा राखे ।
जोखिमयुक्त कर्जाको नियमित अनुगमन तथा प्रभावकारी असुली रणनीति अवलम्बन गरियो ।
परिणामस्वरूप, मर्जरपछि ४।९६ प्रतिशत पुगेको खराब कर्जा अनुपात घटेर ४।३७ प्रतिशतमा झरेको छ ।
यस अवधिमा बैंकले गैर(बैंकिङ सम्पत्तिको व्यवस्थापनमा समेत सुधार गरेको छ ।
कर्जा नोक्सानी व्यवस्थाबापत राख्नुपर्ने रकम २ अर्ब २९ करोड रुपैयाँबाट घटेर ४७ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ ।
यसले बैंकको सम्पत्ति गुणस्तरमा सुधार ल्याउनुका साथै नाफा वृद्धिमा पनि महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ ।
सुशासन र आन्तरिक प्रणालीमा सुधार
दुई ठूला बैंकबीचको मर्जरपछि कर्मचारी व्यवस्थापन, कार्यसंस्कृति समायोजन तथा कर्जा नीतिमा एकरूपता कायम गर्नु चुनौतीपूर्ण थियो ।
कतिपय प्रशासनिक प्रक्रिया सुस्त र जटिल थिए ।
ज्ञवालीले संस्थागत सुशासनलाई मजबुत बनाउन विभिन्न संरचनात्मक सुधार अघि बढाए ।
प्रशासनिक खर्च नियन्त्रण, चुहावट न्यूनीकरण, जिम्मेवारीको स्पष्ट विभाजन तथा निर्णय प्रक्रियामा पारदर्शिता र गति ल्याउने काम गरियो ।
विभागीय पुनर्संरचनामार्फत कार्यसम्पादन क्षमता अभिवृद्धिमा समेत जोड दिइयो ।
डिजिटल बैंकिङमा थप विस्तार
नबिल बैंक डिजिटल बैंकिङमा अग्रणी मानिए पनि ग्राहकले सामान्य सेवाका लागि समेत शाखा धाउनुपर्ने अवस्था पूर्णरूपमा अन्त्य भएको थिएन ।
कतिपय डिजिटल सेवाहरूमा प्राविधिक जटिलता पनि देखिन्थ्यो ।
ज्ञवालीको नेतृत्वमा बैंकले डिजिटल बैंकिङलाई केवल प्रविधि प्रदर्शनको माध्यम नभई लागत घटाउने र सेवा प्रवाहलाई छिटो बनाउने साधनका रूपमा विकास गर्न प्रयास गर्यो ।
‘नबिल डिजीबैंक’ लगायतका डिजिटल प्लेटफर्मलाई स्तरोन्नति गर्दै पेपरलेस बैंकिङ र डिजिटल ऋण स्वीकृति प्रणालीलाई थप प्रभावकारी बनाइएको छ ।
यसबाट ग्राहक सेवाको गुणस्तर सुधार हुनुका साथै सेवा प्राप्त गर्ने समय पनि उल्लेख्य रूपमा घटेको बैंकको दाबी छ ।
दिगो बैंकिङ र नयाँ बजार विस्तार
नबिल बैंक दिगो बैंकिङको अवधारणामा अग्रणी मानिए पनि यसको प्रभाव आम उद्यमी र ग्रामीण अर्थतन्त्रसम्म पर्याप्त रूपमा पुगेको थिएन ।
बैंकलाई मुख्यतः ठूला व्यापारिक घरानामुखी संस्था भनेर बुझ्ने धारणा पनि विद्यमान थियो ।
गत एक वर्षमा बैंकले साना तथा मझौला उद्यम, महिला उद्यमशीलता, कृषि तथा हरित ऊर्जामा आधारित वित्तीय सेवालाई प्राथमिकतामा राखेको छ ।
बैंकको ४१औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको ‘नबिल स्मार्ट नारी होम लोन’ जस्ता योजनाले यही रणनीतिक दिशालाई प्रतिबिम्बित गर्छन् ।
जलविद्युत, सौर्य ऊर्जा तथा विद्युतीय सवारीसाधन (ईभी) वित्तीयकरणमा समेत बैंकले आफ्नो लगानी पोर्टफोलियोलाई विस्तार गर्दै लगेको छ ।
कर्मचारी केन्द्रित नेतृत्व
ठूलो संस्थामा तल्लो तहका कर्मचारी र उच्च व्यवस्थापनबीच दूरी बढ्ने जोखिम रहन्छ ।
ज्ञवालीले भने ‘सामूहिक नेतृत्व’ को अवधारणालाई प्राथमिकता दिएका छन् ।
उनी बैंकका उपलब्धिलाई व्यक्तिगत सफलताका रूपमा प्रस्तुत नगरी सम्पूर्ण ‘नबिल परिवार’ को सामूहिक प्रयासको परिणामका रूपमा व्याख्या गर्छन् ।
यसले कर्मचारीको मनोबल बढाउनुका साथै संस्थाभित्र सकारात्मक कार्यसंस्कृति निर्माणमा सहयोग पुगेको बताइन्छ ।
एक वर्षे कार्यकाल पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले बैंकका उपलब्धिहरू सम्पूर्ण कर्मचारीको सामूहिक प्रतिबद्धता र मेहनतको प्रतिफल भएको उल्लेख गरेका छन् ।
वित्तीय सूचकहरूमा उत्साहजनक सुधार
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले पनि बैंकको सुधार यात्रालाई पुष्टि गरेको देखिन्छ ।
चैत मसान्तसम्म बैंकको खुद नाफा ३३।९२ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको खुद नाफा ५ अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।
वितरणयोग्य नाफा ५२।१७ प्रतिशतले बढेर ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ५ पैसाबाट बढेर ३३ रुपैयाँ २ पैसा पुगेको छ ।
खराब कर्जा अनुपात ४.९६ प्रतिशतबाट घटेर ४.३७ प्रतिशतमा झर्नु, खुद खराब कर्जा ०.९८ प्रतिशतमा सीमित हुनु तथा कर्जा नोक्सानी व्यवस्थामा ७९.१२ प्रतिशतको कमी आउनु बैंकका प्रमुख उपलब्धिका रूपमा देखिएका छन् ।
त्यस्तै, बैंकले आफ्नो कस्ट अफ फण्ड ६.१० प्रतिशतको हाराहारीमा नियन्त्रणमा राख्न सफल भएको छ ।
पूँजी कोष अनुपात १२.५ प्रतिशतभन्दा माथि कायम रहनुले बैंकको वित्तीय स्थायित्व र विस्तार क्षमतालाई थप बलियो बनाएको संकेत गर्छ ।
स्थायित्वबाट वृद्धितर्फ
मनोज ज्ञवालीको पहिलो वर्ष नबिल बैंकलाई बाह्य चमकभन्दा पनि आन्तरिक रूपमा बलियो, सुरक्षित र व्यवस्थित बनाउने अभियानका रूपमा देखिएको छ ।
बैंकिङ क्षेत्र समग्र रूपमा चुनौतीपूर्ण अवस्थामा रहेको बेला उनले संस्थागत स्थायित्व, सुशासन र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बैंकलाई सन्तुलित मार्गमा अघि बढाएका छन् ।
यही आधारले आगामी वर्षहरूमा नबिल बैंकलाई थप दिगो र तीव्र वृद्धितर्फ लैजान सक्ने अपेक्षा बैंकिङ क्षेत्रले गरेको छ ।


विश्व खबर 




















