काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा ‘अन–दफ्लाई’ ईएमआई (किस्ताबन्दी) सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
दुवै संस्थाबीच भएको उक्त सहकार्यले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नुका साथै ग्राहकलाई आधुनिक र सहज वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनीका सम्पूर्ण शाखाबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्दा तत्कालै किस्ताबन्दी सुविधा प्राप्त गर्नेछन् ।
यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक नपर्ने बैंकले जनाएको छ ।
ग्राहकले आफ्नो आवश्यकता अनुसार ३, ६, ९, १२ वा १८ महिनासम्मको किस्ताबन्दी अवधि छनोट गर्न सक्नेछन् ।
विशेष कुरा, उक्त सुविधामा कुनै ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन ।
यो योजनाबाट विशेषगरी इलेक्ट्रोनिक्स तथा उच्च मूल्यका सामग्री खरिद गर्ने ग्राहकलाई तत्काल आर्थिक भार कम हुने तथा योजनाबद्ध रूपमा भुक्तानी गर्न सहज हुने अपेक्षा गरिएको छ ।
सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित किनमेल गर्ने ग्राहकका लागि विशेष ‘ग्लोबल बीबीएसएम क्लब क्रेडिट कार्ड’ समेत जारी गरिने भएको छ ।
ग्राहकको आर्थिक अवस्था तथा पछिल्ला तीन महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड उपलब्ध गराइने जनाइएको छ ।
सुरुवाती चरणमा उक्त कार्ड भाटभटेनी तथा त्यसको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिनेछ ।
कार्डमार्फत ग्राहकले सहज भुक्तानी सुविधा, विशेष अफर, छुट तथा आगामी ग्राहक केन्द्रित योजनाहरूको लाभ लिन सक्नेछन् ।
ग्लोबल आइएमई बैंक र भाटभटेनीबीचको यो सहकार्यले डिजिटल भुक्तानीको विस्तार, आधुनिक बैंकिङ सेवाको पहुँच वृद्धि तथा ग्राहकलाई थप लाभान्वित गर्ने विश्वास लिइएको छ ।
दुवै संस्थाले आगामी दिनमा संयुक्त रूपमा विभिन्न छुट, क्यासब्याक, रिवार्ड तथा विशेष ग्राहक लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन् ।
यस योजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारका रूपमा सहकार्य गरेको छ ।
ग्लोबल आइएमई बैंकले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट बैंकिङ क्षेत्रमा उत्कृष्ट योगदानका लागि सम्मान तथा अवार्ड प्राप्त गर्दै आएको छ। बैंकले ‘बेस्ट बैंक नेपाल’ (२०२४, २०२५ र २०२६), ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ (२०२२, २०२४ र २०२५), ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका प्रतिष्ठित सम्मान प्राप्त गरिसकेको छ ।
मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकका ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।
बैंकले बैंकिङ सेवासँगै संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ ।


विश्व खबर 




















