काठमाडौं– उत्तर अमेरिकाका तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप २०२६ ले विश्व फुटबलमा नयाँ इतिहास रच्दैछ ।
२३औँ संस्करणको विश्वकपमा यसअघि कहिल्यै नभएका धेरै परिवर्तनहरू एकैसाथ लागू हुने भएका छन् ।
विश्वकप इतिहासमै पहिलोपटक तीन राष्ट्रले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन् ।
क्यानडाले पहिलोपटक पुरुष विश्वकपको खेल आयोजना गर्न लागेको हो भने मेक्सिको विश्वकप तीन पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्नेछ ।
मेक्सिको सिटीस्थित प्रसिद्ध एज्टेका स्टेडियमले पनि तीन संस्करणको विश्वकप खेल आयोजना गर्ने पहिलो स्टेडियमको कीर्तिमान बनाउनेछ ।
यसपटक पहिलोपटक ४८ राष्ट्र सहभागी हुनेछन् ।
यससँगै कुल खेल संख्या ६४ बाट बढेर १०४ पुगेको छ ।
१२ समूहमा विभाजित टोलीमध्ये शीर्ष दुई र उत्कृष्ट आठ तेस्रो स्थानका टोली नकआउट चरणमा पुग्नेछन् ।
नयाँ ढाँचाअनुसार ‘राउण्ड अफ ३२’ पनि थपिएको छ ।
खेल संख्या बढेसँगै फाइनल पुग्ने टोलीले अब ७ होइन ८ खेल खेल्नुपर्नेछ ।
विश्वकप ३९ दिनसम्म चल्नेछ र १,२४८ खेलाडी सहभागी हुनेछन् ।
यस संस्करणमा पहिलोपटक चार राष्ट्र केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानले विश्वकपमा डेब्यु गर्दैछन् ।
विश्वकपको उद्घाटन समारोह पनि नयाँ शैलीमा हुनेछ ।
आयोजक तीनवटै राष्ट्रमा छुट्टाछुट्टै उद्घाटन समारोह आयोजना गरिनेछ ।
फिफाले फाइनल खेलमा पहिलोपटक ‘हाफ टाइम शो’ समावेश गर्ने घोषणा गरेको छ ।
अमेरिकी फुटबलको सुपर बाउल शैलीमा हुने यो प्रस्तुति विश्वकप इतिहासकै पहिलो हुनेछ ।
यस्तै, खेलअघि राष्ट्रिय गान बज्दा अब सुरुआती ११ खेलाडी मात्र होइन, टोलीका सबै २६ खेलाडी र रेफ्रीहरू मैदानमा उपस्थित हुनेछन् ।
यो नियम पनि पहिलोपटक विश्वकपमा लागू हुन लागेको हो ।
यी सबै परिवर्तनका कारण फिफा विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो, लामो र नवीन संस्करणका रूपमा चिनिने अपेक्षा गरिएको छ ।


विश्व खबर 



















