काठमाडौं– सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
सिंगा ओभल मैदानमा आइतबार भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९।२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि लोकेश बमले अविजित ४४ रनको उत्कृष्ट इनिङ्स खेले भने कप्तान रोहित पौडेल २१ रनमा नटआउट रहे ।
कुशल भुर्तेलले २० रन जोडे ।
यसअघि टस जितेर ब्याटिङ गरेको ओमान १९।४ ओभरमा ९४ रनमै अलआउट भएको थियो ।
ओमानका कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ तथा जुबेर अली अकबरले २२ रन बनाए ।
नेपालका बलर करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे ।
शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए ।
नेपालले उपाधिका लागि हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
उल्लेखनीय रूपमा, सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि भने छनोट भइसकेका छन् ।


विश्व खबर 



















