काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले शनिबार (जेठ २३ गते) काठमाडौं र ललितपुरका झण्डै १०० स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणअन्तर्गतको १३२ केभी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजना, मातातीर्थले जारी गरेको सूचनाअनुसार १३२ केभी स्युचाटार सबस्टेशनको मर्मतसम्भार तथा स्तरोन्नतिका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने भएको हो ।
यस अवधिमा स्युचाटार र टेकु सबस्टेशनबाट विद्युत् वितरण हुँदै आएका कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ ।
प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गत ५३ स्थान, कीर्तिपुर वितरण केन्द्रअन्तर्गत ११ स्थान, रत्नपार्क वितरण केन्द्रअन्तर्गत २० स्थान तथा पुल्चोक वितरण केन्द्रअन्तर्गत १४ स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
सूचनामा स्युचाटार सबस्टेशनको बसलाई ‘सटडाउन’ मा राखेर आवश्यक मर्मत तथा स्तरोन्नतिका काम गरिने उल्लेख गरिएको छ ।
साथै, काठमाडौं उपत्यकाका अन्य सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत यसको प्रभाव पर्न सक्ने प्राधिकरणले जनाएको छ ।
मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित समय परिवर्तन हुन सक्ने जनाउँदै प्राधिकरणले निर्धारित समयमै काम सम्पन्न गर्न प्रयास गरिने र यसबाट ग्राहकलाई पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।
विद्युत् अवरुद्ध हुने प्रमुख क्षेत्रहरू :
कुलेश्वर वितरण केन्द्र
स्वयम्भू, कलंकी, रविभवन, बल्खु, कुलेश्वर, छाउनी, टंकेश्वर, डल्लु, बिजेश्वरी, नैकाप, सतुङ्गल, बलम्बु, गुर्जुधारा, इचङ्गुनारायण, रामकोट, भीमढुंगा, सोल्टीमोड, आर्मी अस्पताल क्षेत्रलगायत ।
कीर्तिपुर वितरण केन्द्र
कीर्तिपुर, मैत्रीनगर, चोभार, टौदह, सल्यानस्थान, आदिनाथ, भाजंगल, त्रिभुवन विश्वविद्यालय परिसरलगायत ।
रत्नपार्क वितरण केन्द्र
न्युरोड, धरहरा, बसन्तपुर, हनुमानढोका, असन, इन्द्रचोक, टेकु, त्रिपुरेश्वर, कालिमाटी, थापाथली, माइतीघर, क्षेत्रपाटी, सोह्रखुट्टेलगायत ।
पुल्चोक वितरण केन्द्र
पुल्चोक, झम्सीखेल, सानेपा, कुपण्डोल, हरिहर भवन, नख्खुचोक, बागडोल, धोबिघाट, भैंसेपाटी, नयाँबाटो, मञ्जुश्री क्षेत्रलगायत ।
प्राधिकरणले प्रभावित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न अनुरोध गरेको छ ।






















