images
images
  • बजेटअघि अर्थमन्त्रीले नै सूचना चुहाएपछि भन्सार छलेर नेपाल भित्र्याइयो २७० वटा डिपल गाडी

    काठमाडौं– आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि नै विद्युतीय सवारीसाधन (ईभी) मा कर वृद्धि हुने सूचना चुहिएको आशंकाबीच ठूलो संख्यामा ईभी गाडी आयात गरिएको तथ्य सार्वजनिक भएको छ।

    स्रोतका अनुसार मोरङ अटो वक्र्स (एमएडब्लु) ले बजेट भाषणअघि नै डिपल ब्रान्डका करिब २ सय ७० वटा गाडी नेपाल भित्र्याएको छ। बजेटमार्फत ईभीमा करको दर बढाइने जानकारी अग्रिम रूपमा प्राप्त भएपछि उक्त कम्पनीले ठूलो परिमाणमा गाडी आयात गरेको दाबी गरिएको छ।

    एमएडब्लुका सञ्चालक विष्णुकुमार अग्रवालले बजेट प्रस्तुत हुनुअघि अर्थमन्त्रीसँग भेटवार्ता गरेको र सोही क्रममा करसम्बन्धी नीतिगत परिवर्तनबारे जानकारी प्राप्त गरेको स्रोतको दाबी छ। स्रोतका अनुसार अग्रवालले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत भेटेका थिए।

    राजनीतिक नेतृत्वको तहबाटै बजेटसम्बन्धी संवेदनशील सूचना चुहिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ। विगतमा करका दर हेरफेरसम्बन्धी सूचना अर्थ मन्त्रालयका उच्च अधिकारीहरूबाट बाहिरिने आरोप लाग्दै आए पनि यसपटक भने राजनीतिक नेतृत्वकै तहबाट सूचना बाहिरिएको दाबी स्रोतहरूको छ।

    स्रोतका अनुसार बजेटअघि आयात गरिएका डिपल गाडीहरू वीरगञ्ज भन्सार कार्यालयबाट भन्सार प्रक्रिया पूरा गरी छुटाइएको थियो। त्यसक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीको भूमिका पनि चर्चामा आएको छ।

    कर नीति सार्वजनिक हुनुअघि नै केही सीमित व्यवसायीले त्यससम्बन्धी जानकारी प्राप्त गरी आर्थिक लाभ उठाउने गरेको आरोप विगतदेखि उठ्दै आएको छ। यस घटनाले बजेट निर्माण प्रक्रियाको गोपनीयता, सूचना सुरक्षाको अवस्था तथा नीतिगत निर्णयमा पहुँच भएका व्यक्तिहरूको प्रभावबारे नयाँ प्रश्नहरू खडा गरेको छ।

    यद्यपि, यस विषयमा अर्थ मन्त्रालय, सम्बन्धित राजनीतिक नेतृत्व तथा एमएडब्लु समूहले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images