काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई खुलापत्र लेख्दै प्रत्यक्ष भेटवार्तामार्फत युक्रेन युद्ध अन्त्य गर्न प्रस्ताव गरेका छन् ।
करिब १,८०० शब्द लामो पत्रमा जेलेन्स्कीले अमेरिका पुनः युरोपको युद्धतर्फ केन्द्रित हुने प्रतीक्षामा बस्नु उचित नहुने उल्लेख गर्दै रुस र युक्रेनबीचको प्रत्यक्ष संवादबाट मात्र दिगो शान्ति सम्भव हुने बताएका छन् ।
उनले वार्ताको अवधिभर पूर्ण युद्धविराम लागू गर्न पनि आग्रह गरेका छन् ।
पत्रमा जेलेन्स्कीले पुटिनलाई प्रत्यक्ष भेटका लागि औपचारिक निम्तो दिँदै स्विट्जरल्यान्ड वा टर्कीमा वार्ता गर्न सकिने प्रस्ताव गरेका छन् ।
उनले युद्धका कारण युक्रेनले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अब युद्ध अन्त्यतर्फ अग्रसर हुनुपर्ने बताएका छन् ।
क्रेम्लिनले पत्र प्राप्त भएको पुष्टि गरेको छ र पुटिनलाई यसको जानकारी गराइने जनाएको छ ।
यद्यपि पुटिनले यसअघि यस्तै प्रस्तावहरू अस्वीकार गर्दै आएका छन् ।
सेन्ट पिटर्सबर्गमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफू युक्रेनसँग सम्झौता गर्न तयार रहेको तर त्यसका लागि किएभले लचकता देखाउनुपर्ने बताएका छन् ।
रुसले डोनेट्स्क, लुहान्स्क, खेअर्सन र जापोरिजा क्षेत्रबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने तथा युक्रेनले नेटो सदस्यता त्याग्नुपर्ने पुरानै अडान दोहोर्याएको छ ।
युक्रेनले भने आफ्नो भू–भाग त्याग्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ ।
पछिल्ला महिनाहरूमा युद्धविरामसम्बन्धी वार्ताहरू ठप्प रहँदै आएका बेला जेलेन्स्कीको यो खुलापत्रलाई युद्ध अन्त्यका लागि नयाँ कूटनीतिक पहलका रूपमा हेरिएको छ ।
युक्रेनी विदेशमन्त्री एन्ड्री सिबीहले यसलाई गम्भीर र अर्थपूर्ण शान्ति प्रस्ताव भन्दै रुसबाट सकारात्मक प्रतिक्रिया अपेक्षा गरिएको बताएका छन् ।


विश्व खबर 




















