काठमाडौं– सरकारले शैक्षिक परामर्श, भाषा परीक्षण तथा भाषा शिक्षण सेवा सञ्चालन गर्ने संस्थाका लागि धरौटी, अनुमतिपत्र र नवीकरण दस्तुरमा ठूलो वृद्धि गर्ने प्रस्ताव अघि सारेको छ ।
प्रस्तावित व्यवस्था अनुसार शैक्षिक परामर्श संस्था सञ्चालन गर्न २५ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ भने प्रत्येक शाखाका लागि पनि सोही बराबरको धरौटी अनिवार्य हुनेछ ।
अनुमतिपत्र र नवीकरण दस्तुरसमेत उल्लेख्य रूपमा बढाइएको छ ।
भाषा परीक्षण सेवाका लागि ५ लाख रुपैयाँ धरौटी तथा भाषा शिक्षण र पूर्वतयारी कक्षाका लागि १ लाख रुपैयाँ धरौटी प्रस्ताव गरिएको छ ।
शैक्षिक मेला तथा प्रदर्शनी आयोजनामा समेत नयाँ शुल्क व्यवस्था लागू गर्ने तयारी गरिएको छ ।
व्यवसायीहरूले यस्तो व्यवस्था साना तथा नयाँ कन्सल्टेन्सीका लागि चुनौतीपूर्ण हुने र अन्ततः बढेको लागत विद्यार्थी तथा अभिभावकमाथि नै थोपर्ने बताएका छन् ।
आर्थिक मन्दीको समयमा राज्यले व्यवसाय प्रवर्द्धन गर्नुको सट्टा अतिरिक्त आर्थिक भार थप्न खोजेको भन्दै सरोकारवालाहरूले विरोध जनाउन थालेका छन् ।






















