काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राणाले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डा जोगाउन नसकेको तथा आन्तरिक लोकतन्त्रलाई बेवास्ता गरेको आरोप लगाए ।
उनले अब राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको अवधारणालाई केन्द्रमा राखेर नयाँ राष्ट्रवादी शक्ति निर्माण गर्ने बताए ।
राणाले राप्रपाले समयमै महाधिवेशन गर्न नसकेको, नेतृत्व सुधारको कुनै संकेत नदेखिएको र पार्टीको जनाधार कमजोर बन्दै गएको दाबी गरे ।
आगामी स्थानीय तह निर्वाचनसम्म पार्टीले उम्मेदवारसमेत पाउन कठिन हुने अवस्था देखिएकाले नयाँ राजनीतिक विकल्प रोज्नुपरेको उनको भनाइ छ।
उनका अनुसार नयाँ पार्टीले राजासहितको प्रजातन्त्र, हिन्दू राष्ट्र, युवा तथा महिला नेतृत्व, सुशासन र रोजगारीलाई प्रमुख एजेन्डा बनाउनेछ ।
साथै दुर्गा प्रसाईंको अभियानसहित विभिन्न राजावादी, राष्ट्रवादी र हिन्दूवादी समूह तथा व्यक्तिहरूलाई एकताबद्ध गरेर बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने लक्ष्य राखिएको छ ।






















