काठमाडौं– नेपाल–चीन सीमा नाका कोरला हुँदै नेपाल भित्रिएका ७ सय ७५ वटा विद्युतीय सवारी साधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार रातिदेखि बिहीबार बिहानसम्म मुस्ताङदेखि कास्कीसम्मका विभिन्न स्थानमा गरिएको जाँचका क्रममा ती सवारी नियन्त्रणमा लिइएको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीमा कर दर परिवर्तन गर्ने सूचना बजेटअघि नै चुहिएको आशंकापछि छानबिनका लागि गाडी रोकिएको जनाइएको छ ।
भन्सार कर्मचारी, एजेन्ट र व्यापारीको मिलेमतोमा बजेट घोषणा हुनुअघि नै सवारी जाँचपास गरी भित्र्याइएको सूचनापछि सरकारी संयन्त्र सक्रिय भएको थियो ।
नियन्त्रणमा लिइएका अधिकांश सवारीमा नम्बर प्लेट नभएको र छानबिनपछि भन्सार कार्यालयलाई जिम्मा लगाइने तयारी गरिएको छ ।
सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालय गण्डकीका डीआईजी दीपेन्द्र शाहले घटनाबारे अनुसन्धान भइरहेको पुष्टि गरेका छन् ।


विश्व खबर 




















