काठमाडौं– एप्पललगायत प्रिमियम ग्याजेटको आधिकारिक बिक्रीकर्ता ओलीज् स्टोर प्रालिले आर्थिक वर्ष २०२४/२५ मा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार कम्पनीले ७० करोड रुपैयाँ बराबरको बैंकिङ सुविधा उपयोगका लागि रेटिङ गराएको छ।
कम्पनीले दीर्घकालीन कर्जामा ‘बीबी माइनस’ र अल्पकालीन कर्जामा ‘एफोर’ रेटिङ प्राप्त गरेको छ।
आयात प्रतिबन्धका कारण २०२३ मा कारोबार ८५ करोड ४० लाख रुपैयाँमा झरे पनि प्रतिबन्ध हटेपछि व्यापार पुनः बढ्दै २०२५ मा १ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो।
तर, नाफा मार्जिनमा भने दबाब देखिएको छ।
सञ्चालन नाफा ८.२६ प्रतिशतबाट ६.५० प्रतिशतमा र खुद नाफा ३.२३ प्रतिशतबाट १.३९ प्रतिशतमा झरेको छ।
चेतनप्रसाद ओली र लोकेश ओलीको समान स्वामित्व रहेको कम्पनीले देशभर १५ वटा रिटेल आउटलेट सञ्चालन गरिरहेको छ।
एप्पल ब्रान्डप्रतिको उपभोक्ता विश्वास, बलियो बजार उपस्थिति र डिजिटल पहुँच कम्पनीका मुख्य सबल पक्ष मानिएका छन्।
यद्यपि, विदेशी विनिमय दरको उतारचढाव, उच्च मौज्दात व्यवस्थापन, स्मार्टफोन बजारको कडा प्रतिस्पर्धा तथा सरकारी आयात नीतिमा हुन सक्ने परिवर्तन कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेका छन्।


विश्व खबर 




















